Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा भारतीय जाली नोटको कारोबारः कसैलाई लखेटी–लखेटी मारियो, कसैमाथि जेलमै गोली दागियो

बुधबार, पुस २४, २०८१

काठमाडौं– पाकिस्तानी गुप्तचर संस्था (आईएसआई)सँगको मिलोमतोमा नेपाल हुँदै भारतमा जाली नोटको कारोबार हुने गरेको प्रकरणमा काठमाडौं उपत्यकाभित्र नै हत्या र गोली दाग्ने काम भएका थिए। 

कसैलाई खुला बजारमा लखेटी लखेटी गोली हानेर मारिएका थिए भने कोही जेलभित्र नै असुरक्षित देखिए। यहाँसम्मकी भारतीय सरकारी निकायको पहुँचका आधारमा नै सुन्धारास्थित केन्द्रीय कारागारभित्र पुगेर गोली प्रहार गरिएका घटना सार्वजनिक भएका थिए।

उपत्यका र उपत्यकाबाहिर यस्ता भयानक प्रकरण भएका थिए। 

ति मध्य एक हो, केन्द्रीय कारागारभित्र जाली नोट कारोबारको आरोपमा थुनामा रहेका युनुस अन्सारीमाथिको गोली प्रहार। 

बाराका युनुस अन्सारीलाई जेलभित्रै गोली हानेको आरोपमा जेल परेका भारतीय नागरिक जसजित सिंह (मनमित सिंह भटिया) जेलमुक्त भएलगत्तै पुनः पक्राउ परेर फेरि जेल चलान भएका थिए।

सिंह युनुसको हत्याको योजनाअनुसार नै काठमाडौं आएका थिए र उनले केन्द्रीय कारागारमा छिरेर गोली हान्ने काम गरे। कारागारको सुरक्षा अवस्था नै कमजोर रहेको विषयमा प्रश्न उठेको थियो। 

अन्सारीमाथिको गोलीकाण्डमा १२ वर्ष जेल बसेर छुटेका उनी अर्को हत्याकाण्डमा पक्राउ परेर फेरि जेल चलान भएका थिए। 

बाँकेमा उनीमाथि अर्को हत्याको आरोप थियो। नेपालगन्जको लालीगुराँस होटलमा २०६६ असोज १९ गते अब्दुल मजिद मनिहारको भारतीयले गोली हानी हत्या गरेका थिए। मनिहारको हत्याको कारण पनि भारतीय नक्कली नोटको कारोबार नै रहेको पुष्टि अनुसन्धानले देखाएको थियो। 

उनको हत्या भारतीय सुटर जसजीत सिंहले गरेको निष्कर्ष थियो। सोही घटनामा अदालत पेस गरिएकोमा पुर्पक्षका लागि कारागार पठाउने आदेश भएपछि जेल चलान गरिएको थियो। 

मनिहारको हत्यापछि २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथि गोली प्रहार भएको थियो। 

कैदी चाल्र्स शोभराजलाई भेट्ने बाहनामा कारागार पुगेका जसजित सिंहले अन्सारीमाथि गोली प्रहार गरेका थिए। अन्सारीमाथि जसजितले हानेको ४ राउन्ड गोली नपड्किएपछि पाचौं गोली अन्सारीको कुममा लागेर उछिट्टएिको थियो। 

पटकपटक नक्कली नोट कारोबारमा पक्राउ पर्दै जेल बस्दै छुटेका अन्सारीलाई पछिल्लो पटक २०७६ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। त्यसयता युनुस कारागारमै छन्।

यस्तै उपत्यकामा भएको अर्को हत्या काण्ड पनि नक्कली नोट कारोबारसँग नै सम्बन्ध राख्ने गरेको थियो। 

भक्तपुरको गोठाटार गोलीकाण्डमा मारिएका लाल मोहम्मदलाई भारतीय खुफिया एजेन्सीले ‘रेड जोन’मा राखेको अनुसन्धान प्रतिवेदनले देखाएको थियो।

भक्तपुरको गोठाटारस्थित आफ्नो गार्मेन्ट उद्योग अगाडि लखेटी लखेटी गोली हानेर हत्या गरिएका सर्लाहीका लाल मोहम्मदलाई दक्षिणी छिमेकको खुफिया संस्थाले ‘रेड जोन’मा राखेको एउटा अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो।

नेपाल प्रहरीको विशेष व्यूरोले उनी रिसर्च एण्ड एनालाईसिस विंग(रअ)को ‘रेड जोन’मा रहेको भन्दै एक दशकअघि नै उच्च निगरानी आवश्यक रहेको प्रतिवेदन तयार पारेको थियो। 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बुझाएको उक्त प्रतिवेदनमा कुटनीतिक माध्यमबाट थप प्रमाण जम्मा पारेर कानुनी कारबाही गर्नुपर्ने भनिएको छ।  

लाल मोहम्मदको हत्यामा देखिएको कार्य प्रणाली (मोडस अपरेन्डी)ले भारतीय सार्प सुटर प्रयोग भएको पाइएको थियो।

जाली भारतीय मुद्राको कारोबारमा संलग्न भएको आरोपमा जेलमा रहेका युनुस अन्सारीलाई केन्द्रीय कारागारभित्रै घुसेर गोली हानेको घटनाको अनुसन्धान गरेका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले पनि त्यस्तो अनुमान गरेका थिए। 

‘जाली नोटको कारोबारको आरोप लागेकाहरु यसअघि जसरी मारिएका छन्, मोहम्मद पनि त्यसरी नै मारिएको प्रस्ट देखिन्छ,’ पूर्व डिआईजी मल्लले भनेका थिए,‘टाउकोमा ताकेर गोली हानिएको छ, यसअघिका घटनामा पनि यस्तै भएको थियो।’ 

जाली भारतीय नोटको कारोबारमा संलग्न रहेको आरोपमा हाल जेलमा रहेका युनुस अन्सारीकै समूहमा मोहम्मद काम गर्ने गरेको विगत रहेको थियो। 

प्रहरी स्रोतका अनुसार मोहम्मद हत्या अभियोगमा जेलमा छँदासमेत जाली भारतीय नोटको कारोबारबाट विमुख थिएनन्। उनी २०६४ मा काठमाडौंको अनामनगरमा बलराम पतुवरको हत्या गरेको अभियोगमा जेल चलान भएका थिए। 

युनुसकै समूहमा इल्ताफ हुसेन अन्सारी, मोहम्मद र बलराम पतुवार सक्रिय रहेका थिए। पतुवारले छुट्टै समूह बनाएर कारोबार गर्न थालेपछि इल्ताफको योजनामा मोहम्मदले पतुवारलाई सार्प सुटर प्रयोग गरेर हत्या गरेका थिए। 

इल्ताफ जाली भारु कारोबारमा नेपाल, पाकिस्तान र भारतबीचको त्रिदेशीय एजेन्ट रहेको विशेष व्युरोले २०७३ मा तयार पारेको एउटा प्रतिवेदनमा छ। 

नक्कली भारु कारोबारमा संलग्न भएको आरोपमा २०५५ मा सबैभन्दा पहिले नेपालीको हत्या भएको थियो। नक्कली भारु कारोबारको आरोप लागेको सांसद एवं पूर्वमन्त्री मिर्जा दिलसाद वेगलाई काठमाडौंको सिफलमा भारतीय भूमिगत गिरोह छोटे राजन समूहलाई प्रयोग गरेर हत्या गरिएको थियो। त्यसपछि झण्डै एक दशकसम्म यस्ता घटना भएका थिएनन्। 

२०६६ मा भने जाली भारु कारोबारमा संलग्न नेपाली चार महिनामै ३ जना मारिए। २०६६ असोज १९ मा नेपालगञ्जको लालीगुँरास होटलमा अब्दुल मदिज मनिहारको हत्या भएको थियो। २०६० चैतमा भेटिएको नक्कली भारतीय नोटको विषयमा मनिहारविरुद्ध मुद्दा चलेको थियो। शुरुमा पुर्पक्षका लागि थुनामा पुगेको मनिहार पछि धरौटीमा छुटेका थिए। 

२०६६ पुसमा बुटवलको मैनाबगरमा सौकात वेगको हत्या भयो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएर उनको हत्या भएको थियो। मोहम्मद वाकर सइनले वेगको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। वेग नक्कली भारु र आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै २० हजार रुपैयाँ इनामसहित मोस्ट वान्टेड सूचिमा राखेको थियो। 

सोही वर्षको माघमा सञ्चार उद्यमी जमिम शाह जाली भारु कारोबारमा संलग्न रहेको आरोपमै मारिए। लाजिम्पाट–महाराजगञ्जको मूल सडकमै गाडीभित्र सवार जमिमको हत्या भएको थियो, दिउँसै। उनको हत्यामा भारतीय जेलमा रहेका आपराधिक समूह बब्लु श्रीवास्तवको हात रहेको तथ्य प्रहरीले फेला पारेको थियो। बब्लुले पनि आफ्नो पुस्तक ‘अधुरा ख्वाब’मा आफूलाई जाली भारुको कारोबारमा संलग्नहरुको हत्या गर्न भारतीय प्रहरीले गोप्य ‘मिसन’ दिएको उल्लेख गरेका छन्।

त्यसको दुई वर्षपछि २०६८ असोजमा काठमाडौंको घण्टाघरस्थित मस्जिदबाट मूल सडकमा निस्कनासाथै इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्या भयो। मोहम्मद फोहद भनिने विपिन यादवले फैजानको हत्या गरेको घटनाको दुई वर्षपछि प्रहरीले खुलायो। यादवलाई बब्लु श्रीवास्तवले फैजानको ‘सफाया’ गर्न खटाएका थिए। 

२०७० मा राजविरामा जाली भारु कारोबारमा संलग्न भनिएका अर्का व्यक्ति मारिए। तत्कालीन सांसद सदरुल मियाँ हकको सुतिरहेकै बेला घाँटी रेटेर हत्या गरिएको थियो। सदरुल हत्या मात्रै जाली भारुसँग जोडिएको अहिलेसम्मको फरक प्रकृतिको हत्या हो। नत्र सबै घटनामा मोटरसाइकलमा आएर सार्प सुटरले हत्या गरेका छन्। सुनसरीबाट अवैध रुपमा नेपाली नागरिकता लिएका भारतीय सुब्रतो बिनले सदरुलको हत्या गरेका थिए।

२०७५ असोजमा सुनसरीमा खुर्सिद आलमको हत्या भयो। खुर्सिदलाई भारतले इन्डियन मुजाहिद्दीन (आईएम)का लागि काम गर्ने पाकिस्तानी एजेन्ट भएको आरोप लगाउँदै आएको छ। आइएमका सदस्यलाई नेपाली नागरिकता दिलाउन र जाली भारतीय मुद्राको कारोबारमा खुर्सिदको संलग्न रहेको भन्दै भारतीय सञ्चार माध्यमले समाचार समेत छापेका थिए।  

यसबाहेक हत्या प्रयास भएका घटना पनि छन्। २०६८ वैशाखमा नेपालस्थित पाकिस्तानी दूतावासको भिसा शाखाका कर्मचारी महबुब असिफमाथि महाराजगञ्जमा गोली प्रहार भएको थियो। पेट र हातमा गोली लागेका उनी बाँच्न सफल भए। मोटरसाइकल चढेर आएका दुई जनाले उनलाई गोली हानेको भनिए यस घटनामा संलग्न कोही पक्राउ परेनन्। त्यतिवेला पाकिस्तानले भने घटनामा भारतको हात रहेको दाबी गरेको थियो।

भारतीय जाली नोट प्रायः सीमा पारबाट नेपाल भित्र्याइने गरेको पाइन्छ। यसमा भारतको विभिन्न सीमावर्ती राज्यहरूसँगै, पाकिस्तान र अन्य तेस्रो मुलुकका गिरोहहरूको पनि संलग्नता रहेको अनुमान गरिन्छ।

नेपाली बजारमा ठूलो मूल्यका भारतीय नोटहरू, विशेषगरी पाँच सय र दुई हजारका नोटहरू, जालीको रूपमा बढी भेटिन्छन्।

यसले नेपाली व्यवसाय र बैंकिङ प्रणालीमा नकारात्मक असर गरेको, उपभोक्ताहरूको विश्वासमा गिरावट भएको, विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेको अर्थविद बताउँछन्। 

जाली नोटको कारोबारले अवैध गतिविधि, भ्रष्टाचार, र संगठित अपराधलाई थप प्रोत्साहन दिन सक्छ। नागरिकहरूमा अनावश्यक कानुनी झन्झटको सम्भावना बढ्छ, जब उनीहरू अन्जानमै जाली नोट चलाउँछन्। 
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्