अस्ट्रेलियाको सिड्नीमा नेपाली नर्स दाहालको शंकास्पद मृत्यु, पतिसँग प्रहरीको सोधपुछ
काठमाडौं– अस्ट्रेलियाको सिड्नीस्थित पारामाट्टा अपार्टमेन्टमा नेपाली नर्स दीक्षा दाहालको शव फेला परेको छ। अपार्टमेन्टको ७ औं तलाबाट खसेर ६ दिनअघि दाहालको खसेर मृत्यु भएको तर घटना शंकास्पद रहेको बताइएको छ।
३९ वर्षीया दाहालको मृत्यु हुनुअघि इमर्जेन्सी सर्भिस नम्बर ‘ट्रीपल जिरो’मा फोन आएको खबर विभिन्न अखबारले लेखेका छन्।
त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको विवरणहरुमा उल्लेख छन्।
उक्त घटनाको अनुसन्धान ब्यारी विन्सेन्टले गरिरहेका छन्। सो क्रममा दाहालका पति रविन्द्र सुवेदीसँग पनि सोधपुछ गरिएको छ।
प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो। उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो।
मृतक दाहाल नर्सका रुपमा त्यहाँ कार्यरत थिइन्। उनीहरुले केही वर्षअघि मात्र विवाह गरेका थिए। उनीहरुबीच आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको त्यहाँका स्थानीय समाचारमाध्यमले जनाएका छन्।
प्रहरीले सीसीटिभी फुटेजलगायतबाट पनि घटनाबारे जानकारी लिने काम गरिरहेको छ। पछिल्लो समय रविन्द्र र दाहालको सम्बन्ध राम्रो नभएको विवरणमा उल्लेख गर्दै अलग बसिरहेको पनि जनाएको छ।