Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह

बुधबार, पुस २४, २०८१

काठमाडौँ- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।

बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा. राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन् ।

सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिना अघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।

त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लगेकामा विपिन जोशी पनि छन् । उनीहरूमध्ये ३४ जनालाई मुक्त गर्न लागिएको तयारी हमास समूहले गरिरहेको समाचार आएको छ ।

हमासले पहिलो चरणमा महिला, बालबालिका र वृद्धवृद्धाहरु अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले विपिनलाई पनि रिहाइका लागि पहल गर्न नेपाल सरकारले आग्रह गरेको हो ।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्र मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएको जानकारी परराष्ट्र मन्त्रीको सचिवालयले दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्