Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तर्राष्ट्रिय समितिमा यादव–सुवाल तमासाः एउटाले भन्यो– नौटङ्की गर्ने? माधव नेपाल मुसुमुसु

बिहीबार, पुस २५, २०८१

काठमाडौं– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा सभापति राजकिशोर यादव र सांसद प्रेम सुवालले तमासा देखाएका छन्।

दुवैबीच भनाभन र बाझाबाझ भएको हो। 

सिंहदरबारमा बसेको समिति बैठकमा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए। त्यसपछि यादवले उत्तेजित जवाफ फर्काएपछि बाझाबाझ भयो। 

यो बाझाबाझ हेर्दै एकीकृत नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने मुसुमुसु हाँसिरहे।

यादवले वैठक समापन भएको घोषणा गरेपछि सुवालले उनीतिर औंला तेर्साउँदै ‘सभापतिज्यूले जथाभावि नगर्नुस्। मैले बोल्न पाउँछु कि पाउँदिन? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो’ भनेका थिए। 

आफूतिर औंला तेर्साएर प्रश्न गरेपछि सभापति यादवले भने,‘औंला तल राख्नुस, नौंटंकी गर्ने?’ सुवालले निरंकुश ढंगले वैठक नचलाउन यादवलाई चेतावनी दिए।

उनले भने,‘यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस्। जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस् गर्नुस। तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?’ 

‘अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने?’, सुवालको प्रश्न थियो। यादव पनि के कम, उनले उत्तर दिए,‘हो, बन्न । के गर्नुहुन्छ?’ 

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्