सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण
बागमती- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ ।
स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको जनाउँदै गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो ।
‘‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृत्ति स्थानीयमा बढ्दै गएको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने, ‘‘त्यही भएर त्यस विरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ ।”
कार्यपालिकाको बैठकले अभियानकोस्वरुप बारे निर्णय लिने उनको भनाइ छ । गत असोज ११ र १२ गतेको बाढी पहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बनाएको थियो ।
अहिले ती स्थानमा स्थानीयले पुनः घर टहरा लगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ ।
गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ । केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घर टहरा लगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानून बमोजिम कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ ।