कुलमानले काटिदिए कांग्रेस संसदीय दलको विद्युत लाइन, कारण यस्तो छ
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नीतिअनुसार महशुल नतिर्ने कार्यालयको लाइन काट्दा कांग्रेस संसदीय दलको कार्यालय पनि परेको छ।
बक्यौता रकम हेरी सिंहदरबारस्थित संसद सचिवालयका नाममा रहेको मिटरको लाइन काट्दा कांग्रेस संसदीय दलको परेको प्राधिकरणले जनाएको छ।
संसद सचिवालयका नाममा ६३ हजार ४ सय रुपैयाँ बक्यौता रहेको र त्यसमा २५ प्रतिशत जरिवाना पनि थप लाग्ने अवस्था छ।
संयोग मान्नुपर्छ अहिले कांग्रेसका दीपक खड्का उर्जामन्त्री छन्। घिसिङ र खड्काको आन्तरिक टसलबीच संसदीय दलको विद्युत लाइन काटिनुलाई संशय मानिएको छ। तर, यो संयोग मात्र रहेको प्राधिकरणले जनाएको छ।
यस्तै भूमिगत जलस्रोत विकास समितिको बबरमहलस्थित भवनमा पनि विद्युतको लाइन काटिएको छ। २० हजार रूपैयाँ बक्यौता रहेको उक्त भवनको लाइन काट्दा काठमाडौँ जिल्ला अदालतका केही इजलास पनि प्रभावित भएका छन्।