सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोसँग कति धरौटी मागियो ?
काठमाडौं- जिल्ला अदालत कास्कीले पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएर हिरासतमा रहेका सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
विहीबार कास्की अदालतका न्यायाधीस नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित हिरासतमा रहेका सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले रवि लामिछानेलाई ६५ लाख धरौटी माग गरेको छ । यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटी बुझाउन भनेको छ । त्यसैगरी पूर्व सांसद मीना गुरुङलाई ५ लाख,उनका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख, लिला पछाईलाई ३७ लाख,आरती गुरुङलाई ५ लाख र रामबहादुर खनाललाई १५ लाख धरौटी माग गरिएको छ।
अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।