भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिने, पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने
काठमाडौं -भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै पर्सि आइतवार मधेश प्रदेशबाहेक देशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
पानी पार्ने प्रणाली भित्रिएपछि तराईमा केही दिनदेखि लाग्दै आएको बाक्लो हुस्सु र कुहिरोको प्रभाव पनि कम हुने मौसमविद्को भनाइ छ ।
आज पनि तराईका धेरै ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु र कुहिरोको प्रभाव कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर शुरू भएको छ । तर मौसमविदले शीतलहरको घोषणा गरिसकेका छैनन् ।