Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित : अन्तिमराजा ज्ञानेन्द्र

शुक्रबार, पुस २६, २०८१

काठमाडौं - अन्तिमराजा ज्ञानेन्द्र शाहले नेपालमा पूर्ण प्रजातन्त्र आम नेपालीको सपनामा मात्र सीमित रहेको प्रतिक्रिया दिएका छन्।

पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै उनले आम नागरिकको सुरक्षा, न्याय, गाँस–बास–कपास, शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रतालाई मात्र पूर्ण प्रजातन्त्र मान्न सकिने टिप्पणी गरेका छन्।

‘प्रजातन्त्र भनेको आम मानिसको जीवनपद्धति हो’, करिब पौने १२ मिनेटको भिडियो सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले मात्र प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन।’

उनले हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ भनेर सोच्नुपर्ने बताएका छन्। ‘हामी पराधीनता, परनिर्भरता र आत्मग्लानिको दिशातिर बढ्दै जानु बिडम्बना हो। हाम्रो स्रोत र साधन, श्रम र सिप देशको विकासमा पूर्णरूपमा उपयोग भएको छैन।’

अन्तिमराजा  शाहले जनशक्ति निरन्तर विदेशिरहेकोतर्फ उनले चिन्ता व्यक्त गरेका छन्। ‘हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सिपको दुरुपयोग गरिरहेका छौँ’, उनले भनेका छन्।

हाम्रो भौगोलिक र सामाजिक बनोटको आधारमा आफ्नो मूल्य मान्यता र मूल राष्ट्रिय नीति तथा राज्यपद्धति कायम गर्दै जानुपर्ने धारणा राखेका छन्। ‘नेपाल कसैको रणमैदान होइन उनले भनेका छन्, ‘हामी सबैको शान्तिथलो बनाउनुपर्छ।’ उनले पृथ्वीनारायणको ‘दिव्योपदेश’ मा उल्लेख मार्गदर्शन आत्मसात गरे मात्र नेपाल विश्वमै समुन्नत बन्ने बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्