नेभिगेशन
राजनीति

राप्रपा अध्यक्ष लिङ्देनलाई निम्तो बाँड्न भ्याई नभ्याई!

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई अहिले निम्तो बाँड्न भ्याई नभ्याई भएको छ।

शनिबार भृकुटीमण्डपमा गर्न लागेको चियापान कार्यक्रमका लागि लिङ्देन निम्तो बाँड्दै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताकहाँ पुगिरहेका छन्।

विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीलाई निम्तो दिएका लिङ्देनले त्यसअघि कांग्रेस सभापति देउवालाई पनि भेटेका थिए।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीलाई निम्ता दिन लिङ्देन बालुवाटार पुगेका थिए।

भेटमा अन्य विषयमा पनि लामो कुराकानी भएको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन्।  

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको छ।

आम निर्वाचनपछि राप्रपासमेत सहभागी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो।

लिङ्देनले ओलीलाई उक्त निर्णयको निरन्तरताको आग्रह गरेका थिए। सम्भवतः शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकले विदाको निर्णय गर्न सक्नेछ। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक डाकीसकेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति