नेपालमा भएका डरलाग्दा एसिड आक्रमणहरू जसले युवतीको जीवन नै बर्बाद बनाएको थियो
काठमाडौं– एसिड आक्रमणकी पीडित भएकी विन्दवासिनी कंसाकार अहिले रास्वपाको समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य छिन्।
जीवनमा उनले सांसद हुने यो अवसर पाए पनि निजी जीवनका अनुभूति भने निक्कै कहालीलाग्दो थियो।
३१ वर्षीया बिन्दवासिनी कंसाकारले १२ वर्षअघि एसिड आक्रमण भएपछि उपचारका लागि एक करोड तीस लाख रुपैयाँ खर्च गरिसकेकी थिइन्। यसपछि पनि अनेक पटक रकम खर्च भएको छ।
एसिडले उनको अनुहार पूर्ण रूपमा क्षति भयो। उनको दुई दर्जन शल्यक्रिया भएको थियो भने उपचार गर्न लामो समय लाग्यो।
उनले ५ बर्षअघि प्रतिक्रिया दिँदै भनेकी थिइन्‘बुवाले व्यापारको लागि बैंकबाट ऋण लिनुभएको पैसाले उपचार सुरु गरेँ तर पैसा अपुग भएर हामीले जग्गा बेच्यौँ। घर पनि धितोमा छ।’
उनीमाथि एसिड खन्याउने व्यक्तिलाई आठ वर्ष मात्र जेल सजाय तोकिएको थियो।
सन् २०१८ मा बनेको फौजदारी संहितामा एसिड आक्रमण गर्नेलाई पचास हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि आठ वर्षसम्म सजायको व्यवस्था हुने भनेर उल्लेख गरियो।
फौजदारी संहितामा व्यवस्था गरिए अनुसार पीडकलाई जरिवाना गरिएको रकम नै पीडितलाई क्षतिपूर्तिबापत दिने व्यवस्था छ तर सुस्त न्याय प्रणालीका कारण पीडितले उपचारका लागि तत्काल पैसा पाउन सक्ने अवस्था अहिले पनि छैन।
अनुहारको छाला पातलो भएका कारण एसिड परेपछि धेरै चरणमा सर्जरी गर्नुपर्ने हुन्छ। सरकारको तर्फबाट राहतको व्यवस्था वा उपचार विमा नभएका कारण उपचार खर्च निकै महँगो हुन्छ।
नेपालजस्तो उपचार निकै महँगो भएको देशमा पीडितहरूले निःशुल्क उपचार पाउँदैनन्। यहाँ यस्तो एउटा छुट्टै कानुनको आवश्यकता छ जसले पीडितहरूको उपचार सुनिश्चित गर्छ।
पीडितका लागि सरकारले निः शुल्क उपचाको कानुनी व्यवस्था गर्न सके उनीहरूको मनोबल बढ्छ।
चौध वर्षकी हुँदा ६ वर्षअघि वीरगञ्जमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको उपचार सम्भवतः अहिले पनि चलिरहेको हाला।
उनको उपचारका लागि धेरै अर्थिक सहयोग पनि पाइन् तर वर्षौँसम्म चल्ने उनको उपचारको खर्च एकातिर भने मनोविज्ञान र शरिरको जलेको भागको तनाव अर्कातिर।
एसिड आक्रमणको सिकार भएकी २६ वर्षिया जेनी खड्कालाई पनि आफ्नो उपचार खर्च जोहो गर्न निकै कठिन भएको थियो। उनले आक्रमण भएपछि न्याय माग्ने क्रममा भनेकी थिइन्,‘हिंसाको म आफै प्रमाण छु। सरकारलाई अरू के प्रमाण चाहियो?’
वैवाहिक जीवनमा खुसी नभएका कारण खड्का पतिसँग छुट्टिइन् र त्यसको बदलामा उनी एसिडको सिकार हुनुपरेको थियो।
अन्य एसिड आक्रमणका पीडितहरूले पनि उपचार खर्च र सुस्त न्याय प्रणालीप्रति औंला उठाएका छन्।
एसिड आक्रमण हिंसात्मक अपराध हो जसमो हानिकारक रासायनिक पदार्थ प्रयोग गरेर कुनै व्यक्तिलाई गम्भीर शारीरिक क्षति पुराइन्छ। यो हिंसाको मुख्य उद्देश्य पीडितको अनुहार वा शरीरलाई बिगार्नु, मानसिक पीडा दिनु, र सामाजिक रूपमा अलग पार्नु हो।
नेपाललगायत विश्वभर एसिड आक्रमणको घटना अक्सर महिलाहरूमाथि हुने गरेको पाइन्छ। आक्रमणको मुख्य कारण प्रेम प्रस्ताव अस्वीकार, वैवाहिक कलह, रिसइवी, वा पुरुषप्रधान सोचको परिणाम हुन सक्छ भन्ने व्याख्या जानकारहरुले गरेका छन्।
यस्तो आक्रमणले पीडितको शारीरिक मात्र होइन, मानसिक र सामाजिक जीवनमा पनि गहिरो असर पार्छ।
एसिड आक्रमणका कारण पीडितको छाला जलेर बिग्रिन्छ, आँखा र अन्य अंगहरूमा स्थायी क्षति पुग्न सक्छ। यसको उपचार महँगो र समयलाग्दो हुन्छ, जसले पीडित र उनको परिवारलाई आर्थिक तथा मानसिक बोझ थप्छ।
यस समस्यालाई नियन्त्रण गर्न कडा कानुनी कारबाही, एसिडको नियन्त्रण र बिक्रीमा निगरानी, र जनचेतना अभियान महत्त्वपूर्ण छन्। जसअनुसार काठमाडौंमा प्रतिबन्ध पनि गरिएको थियो।
एसिड आक्रमणको शिकार भएकाहरूलाई उचित सहयोग, पुनस्र्थापना, र मनोवैज्ञानिक परामर्श प्रदान गर्नु आवश्यक छ। समाजमा समानता, सम्मान र हिंसामुक्त वातावरणको स्थापना नै यस समस्याको दीर्घकालीन समाधान हो।