Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मीमा यस वर्ष २४ करोड ५० लाख मूल्यबराबरको सुन्तला उत्पादन

शुक्रबार, पुस २६, २०८१

गुल्मी - गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएकाे छ ।  गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । 

जिल्लामा यस वर्ष २४ करोड ५० लाख मूल्यबराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए ।

गत वर्ष २३ करोड मूल्यबराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित सुन्तलामध्ये यसपटक १३ करोडभन्दा बढी सुन्तला जिल्लाबाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए ।

गुल्मीबाट गत वर्ष १२ करोडबराबरको सुन्तला जिल्लाबाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगा पोख्रेलले बताइन् ।  

जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन् । कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउँदै आएका छन् । सुन्तलाका फेद र जरा कुहिने समस्याबाट पीडित बनेको धुर्कोट गाउँपालिका– २ का कृषक शिवलाल खनालले बताए । सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्त्वको प्रयोगबाट उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।

जिल्लाका १२ वटै पालिकामा व्यावसायिक रूपमा सुन्तलाखेती गरिँदै आएको छ । जिल्लाका ९३ वडामध्ये ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घालगायत ठाउँमा चक्लाबन्दी गरी सुन्तलाखेती सुरु गरिएको छ ।

गुल्मीको सुन्तलाको माग अत्यधिक छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलगायतका स्थानबाट व्यापारी बगैँचामै पुग्ने गरेका छन् । अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो ८० देखि एक सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ । परियोजनाबाट सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना प्रमुख पोख्रेलले बताइन् ।

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृंगा, रेसुंगा नगरपालिकाको भाडगाउँ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकाेट, गुल्मी दरबारको गैँडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन् ।     

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्