रुपन्देहीमा पनि रविविरुद्द मुद्दा दर्ता प्रक्रियामा, प्रहरीले बुझायो प्रतिवेदन र राय
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । रुपन्देहीका एसपी रन्जितसिंह राठौरले प्रतिवेदन बुझाएको पुष्टि गरे ।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
अहिले पूरक अभियोजनमा रविसहित कतिजना प्रतिवादी बनाइने र बिगो कति र जाहेरकर्ता कति भन्ने विषय प्रहरीले केही पनि खुलाएको छैन ।
प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर आइतबार सोमबारतिर सरकारी वकिल कार्यालय रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो ।