क्रिकेटमा सनसनी मच्चाएका यी नेपाली खेलाडी, पाकिस्तान सुपर लिग ड्राफ्टका क्याटेगोरीमा पर्नुको कारण
काठमाडौं– विश्व क्रिकेटमा उदयीमान नेपाली खेलाडीको चर्चा यसै महिनाको सुरुको साता सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)ले झन् ह्वात्तै बढाएको छ।
यसैको प्रभावले समेत पाकिस्तान सुपर लिगका दुई ड्राफ्टमा नेपाली खेलाडी समेटिएका छन्। यस पटक उक्त लिगका निम्ति ७ जना नेपाली खेलाडी परेका छन्।
सन्दीप लामिछाने, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सोमपाल कामी समेटिएका हुन्।
टेस्ट राज्यको आन्तरिक लिगमा नेपाली खेलाडी समेटिनुलाई सामान्य प्रगतिका रुपमा लिन नहुने बताइन्छ।
त्यस मध्य पनि लेग स्पिनर सन्दीप लामिछाने ड्राफ्टको डायमन्ट क्याटेगोरीमा छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेलीसकेका लामिछानेले अस्ट्रेलियादेखि क्यानडासम्मका आन्तरिक लिग खेलीसकेका छन्।
लामिछानेबाहेकका खेलाडी सिल्भर ड्राफ्टमा परेका छन्। यसले नेपाली राष्ट्रिय क्रिकेटमा पनि राम्रो प्रभाव पार्ने विज्ञहरूले बताएका छन्।
कतिपयको बुझाईचाहिँ एनपीएलको प्रभावका कारण नै धेरै नेपाली खेलाडी पिएसएलका निम्ति ड्राफ्टमा परेको भन्ने छ। सत्य पनि त्यहि रहेको नेपाल क्रिकेट संघ (क्यान)का अधिकारी बताउँछन्।
‘एनपीएलको उद्देश्य नै नेपाली प्रतिभावान खेलाडीको एक्स्पोजरको लागि थियो। जुन पिएसएलको ड्राफ्टमा परेका खेलाडीको नामले पुष्टि गर्छ’, क्यानका अधिकारी भन्छन्,‘अन्य नेपाली खेलाडीले पनि विभिन्न देशका लिगमा मौका पाउने र त्यसले राष्ट्रिय क्रिकेटका निम्ति लाभदायी र फलदायी नतिजा दिन सक्ने अपेक्षा गरिन्छ।’
एनपीएलका निम्ति पाकिस्तानका सोहिल तनवीरलगायतका चर्चित खेलाडी काठमाडौंमा खेल देखाउनका लागि आएका थिए। उनीहरूको आगमनले पनि पाकिस्तान क्रिकेटमा नेपाली खेलाडीको चर्चाको एउटा कारण भएको बताइन्छ।