ओलीविरुद्ध प्रचण्डका दुई असफल प्रयत्न के–के हुन्?
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सत्ता गठबन्धन र त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओली अनि नेकपा एमालेविरुद्ध हरेक सभामा खनिने गरेका छन्।
निजी रुपमा त उनले ओलीको जति आलोचना कसैको पनि गरेका छैनन्। हरेक कार्यक्रम होस् या अन्तरवार्ता प्रचण्डले ओलीविरुद्ध नबोलेका कुनै फोरम छैनन्।
यति मात्र होइन, प्रचण्डले ओलीविरुद्धका अनेक प्रयोग पनि गरेका हुन्। तर, ति खासै सक्रिय हुन सकेनन् भने बलियो गठबन्धनका अगाडि निस्तेज जस्तै रहे।
ओलीविरुद्ध प्रचण्डले यहि प्रतिनिधि सभाको कार्यकालमा दुई प्रयास गरेका थिए। त्यस मध्यको पहिलो हो, समाजवादी मोर्चा गठन।
माओवादी, विप्लव नेतृत्वको नेकपा, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टी सम्मिलित मोर्चा प्रचण्डले गठन गरेका थिए।
यसबेला प्रचण्ड प्रधानमन्त्री थिए भने एमाले विपक्षमा रहेको थियो। तर समाजवादी मोर्चा लामो समयसम्म जान सकेन। यसको औचित्य पुष्टि हुन नसक्दा निस्क्रिय रह्यो।
प्रचण्डले फेरि यो मोर्चालाई ब्युँताउने प्रयत्न गरिरहेका छन्। तर, सत्ता साझेदारीमा रहेका उपेन्द्र यादवको सहभागीता हुने सम्भावना कम रहेको छ। यादवको सहभागीताबिना मोर्चा सक्रिय हुन नसक्ने कतिपयको अनुमान रहेको छ।
यद्यपि सिंहदरबारमा प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग शुक्रबार यसै विषयमा छलफल गरेका थिए। उच्च स्रोतले भन्यो,‘समाजवादी मोर्चा ब्युँताउने र त्यसलाई बलियो बनाएर सरकारका गलत गतिविधिको संयुक्त रुपमा प्रतिवादमा जानेसम्मका कुराकानी भएका छन्।’
ओलीविरुद्ध प्रचण्डको अर्को प्रयोग हो, विपक्षी दलको मोर्चाबन्दी।
यो मोर्चा प्रचण्डले गत कात्तिक २ गते तयार पारेका थिए। प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादीसहितका विपक्षी दल सहभागी गराएर प्रतिनिधि सभाको कक्षमा बैठक राखी मोर्चा गठन भएको थियो।
लामिछाने पक्राउ गरिएपछि रास्वपाका उपसभापति डीपी अर्यालसहित प्रचण्ड आफैं पनि विभिन्न माग र ज्ञापन लिएर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए।
यो मोर्चाको औचित्य सरकारविरुद्धको बलियो प्रतिपक्षी गठबन्धन बनाउने र त्यसको नेता आफू बन्ने प्रचण्डको ध्येय थियो। तर, त्यो पनि असफल भयो।
‘रास्वपा आन्दोलनमा व्यस्त भयो। तर माओवादीले साथ दिने अवस्था रहेन। खाली प्रचण्डले काठमाडौंमा एउटा खबरदारी सभा राखेर भाषणभन्दा अरु केही गरेनन्’, रास्वपाका एक नेता भन्छन्,‘हामी पनि यस्ता मोर्चामा सहभागी नहुने र सरकारका गलत कामकाविरुद्ध आफैं अभियानमा लम्किने निधोमा पुग्यौं।’
कांग्रेस–एमाले सदनका पहिलो र दोस्रो दलको बलियो गठबन्धन भत्काउनका लागि प्रचण्डका अनेक प्रयत्न छन्। यसका लागि उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि शुक्रबार सिंहदरबारमा भेट गरेका थिए। तर कति सफल हुनेछन् या असफल त्योचाहिँ आगामी राजनीतिक गतिविधिले पुष्टि गर्ने नै छ।