कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको टेण्डरमा बदनियतको शंका: प्रम ओलीको सपनामा तुषारापात
काठमाडौ - कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा राति पनि खेल्न मिल्ने गरि फ्लडलाइट जोड्ने कुरा भर्खरैको मात्र होइन । प्रधानमन्त्री नयाँ आउने बित्तिकै भाषणमा पर्ने गर्छ, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा फ्लडलाइट राख्ने कुरा ।
केहि अगाडि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि कीर्तिपुर मैदानमा फ्लड लाइट राख्ने कुराले चर्चा पाएको थियो ।
अझ फ्लड लाइट जोडिसकेको फोटोसप गरिएको फोटोले त्यति बेला सामाजिक सञ्जाल तताएको थियो ।
हालका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुने बित्तिकै दिन नै गनेर कीर्तिपुर त्रिवि मैदानमा एक बर्षभित्र फ्लड लाइट्स राखिसक्ने प्रतिबद्धता गरेका थिए । उनले प्रतिबद्धता व्यक्त गरेको पनि अहिलेसम्म १५० दिन भन्दा बढि भइसकेको छ भने फ्लड लाइट जडान प्रक्रिया टेन्डर खोल्ने भन्दा अगाडि बढ्न सकेको छैन ।
तर रंगशालामा फ्लड लाइट जडानको लागि निकालिएको टेण्डर दस्तावेजमा गम्भीर अनियमितता र शंकास्पद बुँदाहरू पाइएको छ ।
यसले टेण्डर प्रक्रियामा पारदर्शिता र निष्पक्षताको प्रश्न उठाएको छ । टेण्डर दस्तावेजमा प्रतिस्पर्धालाई संकुचित गरि विशेष कम्पनीलाई फाइदा पुग्ने गरी बनाइएको शंका गर्न सकिने अवस्था बनेको छ ।
विशिष्ठता (स्पेसिफिकेसन) मा नै अनियमितता:विशेष ब्रान्डका लागि लक्षित टेण्डर ?
हालैका दिनहरूमा टेण्डर प्रक्रियामा एउटै ब्रान्डलाई मात्र काम दिने नियतले विभिन्न जालसाजीको क्रम बढेको छ। यसरी निश्चित कम्पनी र डिजाइनरको मिलेमतोमा निश्चित कम्पनीले मात्र टेन्डर दर्ता गर्न सक्ने गरि टेन्डर गरिदा राज्यलाई ठूलो आर्थिक नोक्सानी हुन सक्छ ।
त्रिवि मैदानको फ्लड लाइट्स टेण्डरको प्राविधिक विवरणहरूले पनि अन्तर्राष्ट्रिय स्तरको मापदण्डको सट्टा निश्चित कम्पनीको डेटा शीट कपी-पेस्ट गरिएको जस्तो देखाउँछ ।
स्ट्यान्डर्ड क्रिकेट स्टेडियम लाइटको आवश्यकताअनुसारको मापदण्ड राख्नु पर्नेमा एउटा विशेष उपकरण उत्पादक कम्पनी (OEM) को स्पेसिफिकेसनलाई प्राथमिकता दिइएको शंका गर्ने प्रशस्त ठाउँ छ ।
"कन्ट्री अफ ओरिजिन" तोक्नु भनेको प्रतिस्पर्धालाई संकुचित गर्ने प्रयास
टेण्डर दस्तावेजमा उल्लेखित "कन्ट्री अफ ओरिजिन" तोकेर प्रतिस्पर्धालाई संकुचित गर्ने प्रयास गरेको देखिन्छ । टेण्डर डकुमेन्टमा उल्लेख गरिएको ‘Country of Origin’ ले युरोप, अमेरिका वा यूकेको सामग्री मात्र प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ । टेन्डरमा लेखिएको छ - The country of origin of lighting fixture shall be Europe/US/UK. (...... को उत्पत्तिको देश युरोप/अमेरिका/बेलायत हुनेछ ।)
त्यस्तै टेन्डरमा ब्रान्डहरू प्रस्ताव नै गरिएको छ । टेन्डरमा लेखिएको छ - The proposed brands shall be Philips Europe/Thorn UK/Fael Luce Europe/Schreder Europe GMR EN LIGHTS Europe/ or equivalent of proposed origin(प्रस्तावित ब्रान्डहरू फिलिप्स युरोप/थोर्न युके/फेएल लुस युरोप/श्रेडर युरोप GMR EN LIGHTS युरोप/ वा प्रस्तावित उत्पत्तिको समकक्ष हुनेछन् ।)
हामीले केहि विशेषज्ञहरूलाई सम्पर्क गर्दा यसरी एउटा मात्र ब्रान्ड उल्लेख गर्नु वा अप्रासंगिक ब्रान्ड राख्नु प्रतिस्पर्धालाई संकुचित गर्ने प्रयास हो भन्ने बताएका छन् । उनीहरूको तर्क छ, 'यसले प्रतिस्पर्धामात्र घटाउँदैन, लागत पनि बढाउँछ । पहिले २८.३१ करोडमा खुल्ने यो ठेक्का अहिले ४५ करोडमा पुगेको छ ।'
उदाहरणका लागि, भारतले विश्वस्तरीय क्रिकेट स्टेडियमहरू बनाएको छ र त्यहाँ उच्च गुणस्तरीय फ्लड लाइट उपलब्ध छ । तर यसरी देशको मूल तोक्दा भारतीय कम्पनीहरू, चिनियाँ तथा जापानिज कम्पनीहरू पनि प्रतिस्पर्धामा आउँन सक्दैनन् ।
त्यस्तै टेन्डरमा ओपरेटिंग तापक्रम माइनस ४० डिग्रीदेखि भनिएको छ । कीर्तिपुर मैदानका लागि माइनस ४० डिग्रीको माग गर्नु अनावश्यक र खर्चिलो मात्र हुन्न, यसले कुनै ब्रान्डहरूलाई मात्र फाइदा पुग्ने गरि गरिएको हो भन्नेमा शंका नगर्नु पर्ने ठाउँ छैन ।
टेन्डरमा देखिएका यस्ता कमजोरीहरूले यो प्रक्रिया नै नियोजित भएरलेनदेनको शंकामात्र बढाउँदैन, राष्ट्रलाई ठुलो आर्थिक क्षति पुर्याउँछ । सार्वजनिक खरीद प्रक्रियामा पारदर्शिता र निष्पक्षताका लागि अहिले इबिडिङ गरिने गरिन्छ तर त्रिवि मैदानमा पहिले नै स्पेसिफिकेसन लक्ड गरेर निश्चित कम्पनीहरूलाई मात्र टेन्डर भर्न दिने अवस्था बनाइएको छ । यो सार्वजनिक खरीद ऐनको पनि विरूद्धमा हुन आउँछ ।
राज्यलाई क्षति र सुशासनमाथि प्रहार विशेष ब्रान्डको पक्षमा टेण्डर डकुमेन्ट तयार गरेर निश्चित कम्पनी र कर्मचारीहरूले आर्थिक फाइदा उठाउन खोजेको देखिन्छ । तर, यस प्रकारको कार्यले राज्यलाई ठूलो क्षति पुर्याउनुका साथै सुशासनको खिल्ली उडाउने काम भइरहेको छ ।
यसरी बदनियतपूर्ण बुँदाहरू समावेश गरेर निकालीएको टेण्डरमाथि मुद्दामामिला पर्न सक्ने सम्भावना अधिक छ । यसले फ्लड लाइट जडानको कार्य थप लम्बिन जाने जोखिम रहन्छ । यसैले सम्पुर्ण प्रक्रिया अवरोधबिना सूचारू रहनका लागि यो टेन्डर तत्काल संशोधन गरिनु पर्छ ।