ट्रम्प आउनुअघि नै बाइडेनले थपे आप्रवासीका लागि अस्थायी निर्वासन सुरक्षा अवधि
काठमाडौं - अमेरिकाले आफ्नो मुलुकमा बसोबास गर्ने ९ लाख आप्रवासीका लागि अस्थायी निर्वासन सुरक्षा (टीपीएस) को अवधि थपेको छ ।
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनबाटै आप्रवासीलाई डिपोर्ट गर्ने प्रतिबद्धता व्यक्त गरेपछि जो बाइडेन प्रशासनले कार्यकालको १० दिन बाँकी रहँदा यस्तो कदम चालेको हो ।
बाइडेन प्रशासनले घोषणा गरेको टेम्पोररी प्रोटेक्शन स्ट्याटस (टीपीएस) अर्थात् अस्थायी निर्वासन सुरक्षा अमेरिकामा बसोबास गर्दै आएका एल साल्भाडोर, सुडान, युक्रेन र भेनेजुएलाका नागरिकमा लागू हुने सीएनएनले जनाएको छ ।
ती मुलुकका नागरिकका लागि अस्थायी सुरक्षा अगामी वसन्तमा समाप्त हुँदै छ । म्याद सकिएदेखि अर्को १८ महिनासम्मका लागि वर्क पर्मिटका साथ अमेरिकामा रहन अनुमति प्रदान गरिने बताइएको छ ।
गृह सुरक्षा विभागका अनुसार बाइडेन प्रशासनको नयाँ निर्णयले लगभग २ लाख ३२ हजार साल्भाडोरियन, १ हजार ९ सय सुडानी, १ लाख ४ हजार युक्रेनी र ६ लाख भेनेजुएलाका नागरिकलाई राहत हुने बताइएको छ ।
आप्रवासी अधिवक्ता र डेमोक्र्याटिक सांसदहरूले ट्रम्पले पदभार ग्रहण गर्दा आफ्नो सुरक्षा र देशले काम गर्ने क्षमता गुमाउने डरले अमेरिकामा रहेका आप्रवासीलाई निर्वासन सुरक्षा अवधि थप गर्न बाइडेन प्रशासनलाई आग्रह गरिरहेका थिए ।
लगत्तै बाइडेन प्रशासनले ती मुलुकका नागरिकको निर्वासन सुरक्षा अवधि थप गर्ने घोषणा गरेको सीएनएनले जनाएको छ । हाल टीपीएस अन्तर्गत १० लाख आप्रवासी अमेरिकामा बसोवास गर्दै आएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा एल साल्भाडोर लगायत अन्य देशका नागरिकलाई प्रदान गरिएको निर्वासन सुरक्षालाई समाप्त गर्न प्रयास गर्दा उनले कानुनी चुनौतीको सामना गर्नुपरेको थियो । ट्रम्पले जनवरी २० मा शपथ लिँदै छन् । एजेन्सी