Nic Ad Nic Ad
Nic Ad Nic Ad
लागुऔषध

गोली ठोकेर ‘ड्रग्स’ कारोबारी पक्राउ गरेका चर्चित कथा, कारोबारमा नेपालका प्रमुख चार नाका

आइतबार, पुस २८, २०८१

काठमाडौं– नेपाल प्रहरीले विभिन्न अपराध नियन्त्रणका निम्ति अनेक अप्रेशन चलाउने गरेको छ। गुन्डा नाइकेहरूलाई इन्काउन्टरका नाममा गोली ठोक्ने प्रहरीले सामाजिक अपराध नियन्त्रणलाई निक्कै प्रभावकारी बनाउने अनेक उपाय खोजिरहेको हुन्छ। 

यस मध्य नेपालमा मौलाएको प्रमुख अपराध हो लागुऔषध (ड्रग्स) कारोबार। यस्ता कारोबारीलाई पक्राउ गर्नका लागि प्रहरीले गोली ठोक्ने गरेको छ। 

भनिन्छ नि बन्दुक सजाउन होइन, अपराधी समाउन चलाउनका लागि हो। हो, नेपाल प्रहरीले विभिन्न चरणमा ड्रग्स कारोबारी पक्राउ गर्नका लागि गोली ठोक्ने गरेको छ। ड्रग्स नियन्त्रणको मूल लक्ष्य राखेको प्रहरीले प्रहरी नायव महानिरिक्षक (डीआईजी) प्रमुख रहनेगरी लागुऔषध ब्यूरो नै खडा गरेको छ। 

सोही ब्युरोका अब्बल अधिकारीले यस्ता अप्रेशनलाई सफल तुल्याउँछन्। त्यस मध्यका चर्चित घटनालाई समेटिएको छ।

हालैका बर्षमा सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समात्यो।

सप्तरीको सप्तकोशी–५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको थियो। 

उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर पक्राउ गरिएको थियो।

ब्यूरोको टोलीले मोरङको रतुवामाई नगरपालिका कादुपाडामा गोली हानेर भारतको बिहार, किसनगञ्ज घर भएका ४८ वर्षीय भागिरथ हरिजनलाई समातेको थियो। 

समात्नका लागि गोली नै चलाउन आवश्यक हुन्छ र? ब्यूरोका बिशेष अधिकारी क्यानडानेपालसँग भन्छन्,‘कतिपय कारोबारी आफू उम्किनका लागि प्रहरीमाथि आक्रमण गर्ने सुरमा हुन्छन्। त्यस्तालाई समात्नका लागि नै हो हामीले बन्दुक बोक्ने नत्र त लौरो बोकेर खोज्न गए भै गयो नि!’

हरिजनमाथि खुट्टामा दुई राउण्ड गोली प्रहार गरेर १४९ ग्राम लागु औषध खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो। सो क्रममा एक जना प्रहरी सहायक निरीक्षक (असई) समेत घाइते भएका थिए।

हरेक बर्ष करोडौंको लागु औषध नेपाली बजारमा पुग्ने गरेको अध्ययनहरुले देखाउँछ। त्यसलाई रोक्नका लागि कारोबारीलाई तर्साउन आवश्यक रहेको प्रहरीको बुझाई छ।

कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको थियो । त्यतिबेला सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि समातिए। उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भयो। फरार रहेकी सोही ठाउँकी २३ वर्षीया पार्वती थापा समेत पछि प्रहरी फन्दामा परिन्।

१७ वैशाखमा ब्यूरोकै टोलीले झापा गाउँपालिका–३ कामाटोलीमा गोली प्रहार गरेर भारतीय नागरिक अब्दुल सरिफुललाई पक्राउ गरेको थियो।

घरभित्रैबाट पक्राउ गर्न खोज्दा खुकुरीले प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर समातिएको दाबी प्रहरीको छ। उनको साथबाट ११६ ग्राम खैरो हेराइन प्रहरीले बरामद गरेको थियो। उनी झापामा खैरो हेरोइन बेच्ने मुख्य कारोबारी रहेको दाबी प्रहरीको थियो।

कोभर्टमा रहेर काम गर्ने ब्यूरोको क्षेत्राधिकार देशैभरि रहेकाले लागु औषध ‘हब’ मानिएका जिल्लाहरुमा आफ्नो टोली पठाएर प्रहरीले ड्रग्स कारोबारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ।

२६ मंसिर २०८० मा ललितपुरको झम्सिखेलमा गोली चलाएर लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको थियो। उदयपुरको गाईघाटका ४० वर्षीय अविनाश राईबाट ४८५ ग्राम एम्फेटामाइन प्रहरीले बरामद गरेको थियो। 

प्रहरीको दाबीअनुसार राईले आफूसँग भएको पेस्तोल निकालेर फायर गर्न खोजेपछि उनको दायाँ खुट्टामा एक राउन्ड गोली प्रहार गरिएको थियो। उनलाई त्यतिबेला उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको थियो।

१४ कात्तिक २०८० मा अपराध अनुसन्धान कार्यालयको टोलीले नै गोली चलाएर एक भारतीय र एक नेपालीलाईलाई लागु औषधसहित पक्राउ गरेको थियो। लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिम र झापाका हर्क लिम्बु त्यतिबेला पक्राउ परेका थिए। उनीहरुको साथबाट एउटा पेस्तोल, २ राउण्ड गोली, २ सय ग्राम खैरो हिरोइन र तराजु बरामद, ५० हजार रुपैयाँ नगद भएको थियो। लिम्बु यसअघि मानव बेचविखन मुद्दामा पाँच वर्ष जेल बसेर २०७४ चैतमा छुटेका व्यक्ति रहेको खुलेको थियो।

त्यसबेला अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौर भन्छन्,‘लागु औषधविरुद्ध निर्मम हुन आवश्यक छ। यसले हाम्रा आउँदै गरेको पुस्ताको भविष्य सर्वनाश मात्र पारेको छैन। परिवार पनि डामाडोल बनाएका गुनासा भेटिन्छन्।’

यसअघि गत बर्ष २८ जेठमा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सिनामंगलमा गोली प्रहार गरेर लागु औषध कारोबारी भारतको बिहार मथुराग्राम घर भएका २७ वर्षीय हेमन्तकुमार भगतलाई पक्राउ गरेको थियो। उनको साथबाट १०० ग्राम खैरो हेरोइन बरामद भएको थियो।

भगवत बिहान मात्रै भारतबाट स्थलमार्ग हुँदै विराटनगर आएका थिए। त्यहाँबाट उनी प्लेनमार्फत काठमाडौं आएको खुलेको थियो। 

आर्थिक वर्ष २०८०/८१ मा मात्रै देशभर १३ ठाउँ गोली चलाएर १५ लागु औषध कारोबारीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

काठमाडौं उपत्यकामा मात्रै आर्थिक वर्ष २०८०÷८१ को अहिलेसम्म गोली प्रहार गरेर ६ जनालाई पक्राउ गरिएको तथ्यांक प्रहरीसँग छ। 

गृहमन्त्रालयको तथ्यांक अनुसार नेपालभर करिब १ लाख ३० हजार लागु औषध प्रयोगकर्ता छन्। लागुऔषध उत्पादनमा नियन्त्रण, ओसार पसारमा नियन्त्रण, माग घटाउने (प्रचारप्रसार गरेर लागु औषध खानु हुँदैन भन्ने चेतना फैलाउने) र उपचार तथा पुनस्थापनामा जोड दिनुपर्ने उनको सुझाव छ ।

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई प्रहरीले उत्तम चोक बाट पक्राउ गरेको थियो।

विक्री गर्नको लागि लागुऔषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाइएको त्यसबेला कास्कीका प्रहरी प्रमुख हाल लुम्बिनी प्रहरी प्रमुख रहेका डीआईजी दानबहादुर कार्कीले बताएका थिए। 

मोटर साइकलमा आएका थापाले पहिला प्रहरीमाथि गोली चलाएपछि प्रहरीले प्रतिरक्षाको लागि गोली चलाएको थियो। थापाको खुट्टामा गोली लागेको थियो।  

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागू औषध बरामद गरिएको प्रहरीले जनाएको थियो। पक्राउ परेका थापाको आक्रमणबाट एक असइ समेत सामान्य घाइते भएका थिए। थापा यसअघि लागूऔषध ओसार पसार गरेको आरोपमा दुबईमा समेत पक्राउ परेका थिए।

प्रहरीले निर्ममताका साथ काम गरे पनि नेपालका प्रमुख चार नाकाबाट लागु औषध भित्रिने क्रममा न्यूनिकरण हुन सकेको छैन। यसका लागि ड्रग्स कारोबारीले चार नाकालाई सहज मानेका छन्। 

त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा छन्। 

विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्राउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

त्यस्का अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल आउने गरेको ब्युरोको अध्ययनले देखाउँछ। एउटा नाकामा कडाई गर्दा अर्कामा कारोबारी सल्बलाउने गरेको पनि प्रहरीले पत्तो लगाइसकेको छ।
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार