मलाई डर छ– न्यायाधीश नितिन राईको दानबीकरण हुने हो कि!
बोक्सीको घर भन्ने फिल्मको एउटा गीत छ– बुझिन मैले, बुझाई देऊ कसैले!
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा जिल्ला अदालत कास्कीमा कान्छा न्यायाधीश नितिन राईको इजलाशले धरौटीमा छाड्दै आदेशमा भन्यो,‘उपलब्ध प्रमाणहरुले अभियुक्तहरूमाथि लगाइएको आरोप होइन भन्न सकिने अवस्था छैन।’
यसपछि रास्वपा सभापति रवि लामिछानेले ६५ लाख बैंक ग्यारेन्टी राखेर महिनादिनमा अदालतमा मुद्दाका लागि हाजिर हुने कसम खाएर हिरासतमुक्त भए।
हिरासतमुक्त हुनु भनेको न्याय पाएको भन्ने होइन। मैले बुझेको के हो भने– मुद्दा कायम छ, यसको अन्तिम फैसला नहुन्जेल यहाँ कास्की अदालतमा हाजिर गरिरहनु हो।’
तर त्यहि बखत रास्वपा कार्यकर्ता, कानुन पढेका यस दलका सांसददेखि अनेकले न्याय नै पाएको भन्ने शैलीले हल्ला गरेका थिए। खुशी हुने छुट सबैलाई छ। तर, दिग्भ्रमित प्रचार गरेर क्षणिक खुशीमा रमाउने भन्दा पनि क्लिन चिट लिएर भएको खुशीचाहिँ राम्रो हुने थियो कि!
रवि लामिछानेलगायतले क्लिन चिट पाउलान् या जेल जालान् अथवा केही होला। त्यसमा भन्दा पनि मलाई डर कहाँ छ भने अहिले धरौटीमा छाड्ने न्यायाधीश राईको देवत्वकरण जसरी गरिएको छ। उनको दानवीकरण हुने फैसलाको पूर्णपाठ नआओस्। न्यायाधीशले न्याय त आखिर असल हिसाबले नै गर्लान् नि?
यो सामाजिक सञ्जालमा प्रवृत्तिहरू निक्कै असामाजिक हिसाबले देखाइन्छ। यो सडकमा देखिएको छालजस्तै भ्रमित बनिरहेको छ।
आम मानिस यहि विषयमा झुक्किरहेको छ। ऊ सञ्जाल हेर्छ। त्यसमा आएका सामग्री पनि पढ्छ। तर, त्यसको गहिराई, तथ्य र प्रभावलाई ख्याल गर्दैन। यो एक किसिमको प्रवृत्ति बनिसकेको छ।
सामाजिक सञ्जालले हालका वर्षहरूमा मानिसहरूको जीवनशैली, दृष्टिकोण र सामाजिक संवादलाई उल्लेखनीय रूपमा प्रभावित गरेको छ।
यसको सहज पहुँच र व्यापक प्रयोगले समाजका हरेक पक्षलाई छोपेको छ। तर यससँगै एक गम्भीर प्रवृत्ति पनि देखिन्छ—कुनै व्यक्ति, घटना, वा विचारलाई एकै पटक देवत्वकरण गर्ने र केही समयपछि त्यही विषयवस्तुलाई दानवीकरण गर्ने।
यो टिप्पणीमा यहि प्रवृत्तिको कारण, प्रभाव, र समाधानको खोजी गर्ने प्रयास गरिएको छ।
सामाजिक सञ्जालमा कुनै व्यक्ति वा घटनालाई देवत्वकरण गर्न मुख्यतः दुई कारण जिम्मेवार छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरू कुनै पनि समाचार, विचार वा भावनात्मक सामग्रीमा छिटो प्रतिक्रिया दिन्छन्। कुनै व्यक्तिले असाधारण कार्य गरे वा सामाजिक मुद्दामा योगदान गरे भने उनलाई नायकको रूपमा प्रस्तुत गर्ने क्रम सुरु हुन्छ। आवेगजन्य प्रतिक्रिया हुन्छन्।
सामाजिक सञ्जालमा ट्रेन्ड र भाइरल हुने प्रवृत्तिले धेरै मानिसलाई एउटै धारमा बहावित बनाउँछ। जब एउटा समूहले कसैलाई प्रशंसा गर्न थाल्छ, अरूले पनि त्यसलाई समर्थन गर्ने गर्छन्।
नेपालमा चलिरहेको अहिले यहि हो। रवि लामिछानेले रास्वपा गठन गर्नुपूर्वको मुद्दामा अदालत धाउँदा त्यसलाई पार्टीले बोक्यो। पार्टीसँगै कार्यकर्ता, सांसद र आम साधारण प्रभावित बनाउने भ्रामक खेल भयो।
अहिले न्यायाधीश राईको हकमा पनि त्यहि गतिमा बोक्ने काम भइरहेको छ। तर श्रीमान्! दानवीकरण हुन पनि समय लाग्नेवाला छैन। कसरी हुन्छ? त्यसबारे केही शव्द तल लेखेको छु।
देवत्वकरणको ठीक विपरीत, दानवीकरण गर्ने प्रवृत्ति पनि सामाजिक सञ्जालमा समान रूपले छ। यसका केही कारण छन्।
अपूर्ण जानकारी र गलत व्याख्या। कुनै व्यक्ति वा घटनाका नकारात्मक पक्ष बाहिर आउनासाथ मानिसहरूले पृष्ठभूमि बुझ्न नखोजी आक्रोश व्यक्त गर्छन्।
भावनात्मक ओभरलोड अर्को कारण हो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कुनै विषयमा लगातार जानकारी पाएपछि उनीहरू दिक्क मान्न थाल्छन् र त्यसप्रति विरोध प्रदर्शन गर्छन्।
डिजिटल भीडतन्त्रको प्रभाव पनि फरक कारण हो। सामाजिक सञ्जालमा व्यक्त गरिने असन्तुष्टि चाँडै हिंसात्मक वा नकारात्मक आलोचनामा बदलिन सक्छ। यसले व्यक्तिको छविलाई पूर्ण रूपमा नष्ट गर्ने काम गर्छ।
देवत्वकरण र दानवीकरणको यो चक्रले समाज र व्यक्तिमा गहिरो प्रभाव पार्छ।
यस्तो व्यवहारले लक्षित व्यक्तिमा गम्भीर मानसिक तनाव उत्पन्न गर्न सक्छ। प्रायः सेलिब्रिटी, सामाजिक अभियन्ता, वा राजनीतिज्ञ यसको मुख्य शिकार बन्छन्।
यसले समाजमा ध्रुवीकरण बढाउँछ। एक पक्षले कुनै व्यक्तिलाई देवता मान्छ भने अर्को पक्षले उनलाई पूर्ण रूपमा खलनायक ठहराउँछ।
देवत्वकरण र दानवीकरण दुवैले कुनै व्यक्तिको वास्तविकताको मूल्याङ्कन गर्ने क्षमता कमजोर बनाउँछ।
सामाजिक सञ्जालमा यस्ता प्रवृत्तिहरूलाई न्यूनीकरण गर्न सकिन्छ।
समीक्षित सोचको अभ्यासको बढावा दिनुपर्छ। कुनै पनि जानकारी पाउनासाथ तुरुन्त प्रतिक्रिया दिनुको सट्टा त्यसको सत्यता र सन्दर्भ जाँच्न आवश्यक छ।
प्रयोगकर्ताहरूलाई तथ्य जाँच्न सिकाउने र ट्रोल वा नकारात्मक प्रवृत्तिबाट बच्न सचेत गराउने अभियान सञ्चालन गर्नु पर्छ।
सामाजिक सञ्जालमा सकारात्मक र दीर्घकालीन संवादको परम्परा विकास गर्नुपर्छ। सामाजिक सञ्जालको प्रभावशाली क्षमता हामी सबैको हितमा प्रयोग गर्न सकिन्छ, यदि हामी यसलाई जिम्मेवार र सचेत रूपमा प्रयोग गर्छौं भने। देवत्वकरण र दानवीकरणको चक्रलाई रोक्नका लागि सूचित र विवेकी प्रयोगकर्ता बन्नु हाम्रो पहिलो जिम्मेवारी हो। सामाजिक सञ्जाल केवल भावनाको बहाव होइन, विचार र तथ्यको सन्तुलन हुनु आवश्यक छ।
यसको एउटा उदाहरण पनि पेश गर्छु। दुबईमा बस्ने एलिजे जमालीलाई देवत्वकरण गरियो– नेपाली बुहारी भनेर। किनकी उनले नेपालका आयुषसिंह ठकुरीसँग बिहे गर्ने निधो गरिन्, नेपालीमा गीत गाइन्। नेपाल मनपर्छ भनिन्।
तर उनीहरुका निजी विषय छताछुल्ल भएपछि निस्किएका नकारात्मक बहसमा अर्को टिप्पणी गरेपछि रातारात दानवीकरण गरियो। यहि, हो यहि प्रवृत्तिको अन्त्यको खाँचो भनेकै सन्देशको गहिराई बुझ्ने विषय हो। तथ्यलाई मोडेर मोडिन्न। राज्य व्यवस्था, कानुनी निकाय तथ्यको कसीबाट पर भाग्न सक्तैन।
यसर्थ अहिले जसरी धरौटीमा छाडेको मात्र, क्लिन चिट दिएको हैनलाई पनि रविका पक्षधरले न्यायाधीश नै भगवान हुन् भनेर प्रचार गरिरहेका छन्। भोलीका दिनमा उनको इजलासले तयार पारेको पूर्ण फैसलामा दोषी देखाएर पक्राउ गरी जेल हाल्ने लेखियो भने के होला? त्यसबेला अहिले भगवान बनाएकाहरुले न्यायाधीश राईको दानबीकरण नगर्ने ठेक्का कसैले लिन सक्छ?
बस्, भन्नु यत्ति थियो अहिलेलाई। बाँकी यहि टिप्पणीको सान्दर्भिकताका समयमा लेखिनेछन् अनेक टिप्पणीहरू।