जेल भित्रको सत्ता हत्याउन मन्द विषदेखि सिंहदरबारसम्मको पहुँच कसरी लगाइन्छ?
काठमाडौं– साधारण नागरिकलाई जेल जीवनमा प्रवेश गर्ने कल्पना पनि नमिठो सपना जस्तो लाग्छ। गरीखाने, राम्रो भविष्य बनाउने सोच बनाउनेका लागि जेल यातना र प्रताडनागृह ठानिन्छ।
कतिपय यस्ता हुन्छन् जो जेल जानुलाई साधारण मात्र मान्दैनन् त्यहाँभित्रको राजनीतिमा छिरेर सत्ता शासन चलाउने रहर र महत्वकांक्षा हुन्छ।
जेलभित्रको राजनीति कस्तो हुन्छ र कस–कसले भयानक राजनीति गरेका थिए भन्ने तथ्य खोतलिनेछ।
युनिटी लाइफ ठगी प्रकरणमा अभियुक्त रहेका विष्णु क्षेत्री नख्खु जेलमा थिए। उनी त्यहाँ प्रशिक्षक, प्रवचन दिने र नयाँ आइडीया निकाल्ने व्यक्तिका रुपमा परिचित थिए।
तर कोरोनाकालको केही समयअघि जेलमुक्त भएका उनको मृत्यु भयो। जानकारका अनुसार नख्खु जेलमा क्षेत्रीलाई ‘मास्टरसाब’ भनिन्थ्यो।
यसबाहेक यहाँभित्रको राजनीति कस्तो हुन्छ भन्ने यहाँ चर्चा गरिन्छ।
जेलभित्रको शासनसत्ता चलाउनेलाई चौकिदार भनिन्छ। नाइके, भाईनाइकेलगायतका अनेक पद छन् जो शक्तिशाली मानिन्छन्।
जेलको आन्तरिक प्रशासनको नेतृत्व चौकीदारले गर्छन्। जेल नियमावली २०२० अनुसार जेलको आन्तरिक व्यवस्थापनमा सहयोग लिने प्रयोजनका लागि जेलरले जेलका कैदीबन्दीबाट चौकीदार नियुक्त गर्न सक्छन्। जेलरलाई नाइके र सह–नाइके नियुक्तिको अधिकार पनि हुन्छ।
नियमावलीमा २५ जना बन्दी बराबर एक नाइके र १० जना बन्दी बराबर एक सह–नाइके नियुक्त हुने व्यवस्था छ।
चौकीदार बन्नेलाई विशेष सुविधा हुन्छ। चौकीदारले प्रतिदिन अतिरिक्त भत्ता र सजायमा पनि छुट पाउँछन्। जेलभित्र काम गर्ने चौकीदारलाई एक वर्षवापत दुई महिनाको दरले कैद कट्टीको सुविधा हुन्छ, नाइके र सह–नाइकेको पनि जेल बस्ने अवधि छोट्टिन्छ।
चौकीदार बनाउँदा कम्तीमा ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कर्तव्य ज्यान बाहेककालाई बनाइन्छ। नियमावलीमा चौकीदार बनाउँदा कैदीमध्ये ‘असल चालचलन’ भएकालाई बनाउनुपर्ने भनिएको छ।
एक पूर्वजेलर भन्छन्,‘चौकीदार नियुक्तिका लागि त सिंहदरबारसम्मको पहुँच हुन्छ। दबाब आउँछ। यतिसम्मको चलखेल हुने गरेको छ।’
ति पूर्वजेलरले भनेको विषय पुष्टि हुने आधारको उदाहरण पनि पेश गरिनेछ।
चौकीदार नियुक्तिको एउटा प्रावधान छ। चौकीदार नियुक्तिका लागि प्रमुख जिल्ला अधिकारी समेतको सिफारिसमा जेल व्यवस्थापन विभागको महानिर्देशकसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ, विभागबाट स्वीकृति प्राप्त भएपछि मात्रै चौकीदार नियुक्ति हुन्छ।
जेल ऐन, २०१९ ले कैदीबन्दीको सुविधाका लागि जेल इलाकाभित्र पसल राख्न दिने व्यवस्था गरेको छ। यसको सबै व्यवस्थापन चौकीदारले गर्ने गर्छन्।
चौकीदार बन्ने मानिसका अन्य सुविधा पनि छन्। तर उनीहरुले जेलभित्र नै व्यापक भ्रष्टाचार र कमिशनको खेल पनि चलाउने गरेको कतिपयले बताउने गरेका छन्।
आवश्यकता अनुसार रासन, खाजा, मासुदेखि अन्य विभिन्न खाले पसलहरू पनि जेलभित्रै सञ्चालन हुने गर्छन्। यसमा चौकीदारको हात बलियो हुन्छ।
फेरि जेलमा चाहिने सामग्री खरिदका लागि चौकीदारलाई बाहिर जाने सुविधा पनि हुन्छ। तर चौकीदार भाग्दैनन्। व्यापक सुविधा भएका कारणले उनीहरु जेलअवधिभरी कमाउधन्दा गर्छन्।
उनीहरूले जेलभित्र छुट्टै सत्ता चलाउँछन्, जेलमा उनीहरूकै साम्राज्य चल्छ। जेलभित्र हुने सामान्य खालका झगडा उनीहरू आफैंले मिलाउने गर्छन्। चौकीदारले भान्छा, टेलिफोन सुविधा लगायत विषयमा आफ्नै रोजाइका व्यक्ति नियुक्ति गर्ने भएकाले यो पद जेलभित्र आकर्षक भएको जेलका अधिकारीहरू बताउँछन् ।
नेपालमा ७२ जिल्लामा ७४ जेल छन्। दाङ र काठमाडौंमा चाहिं एकै जिल्लामा दुई जेल छन्। तीमध्ये ललितपुरको नख्खु जेल, काठमाडौंको केन्द्रीय जेल, डिल्लीबजार जेल, क्षेत्रीय जेल झुम्का, जिल्ला जेल मोरङ, जिल्ला जेल पर्सा र बाँके सबैभन्दा बढी चलखेल हुने जेलमध्येमा पर्छन्।
जेलभित्र सिंहदरबारसम्मको पहुँचमा चौकीदार नियुक्ति कसरी हुन्छन् भन्ने उदाहरण जिल्ला जेल मोरङमा १८ असोज २०७८ मा पुगेको पत्र हो।
त्यहाँका चौकीदार नवीन राईको झुम्का क्षेत्रीय जेल सरुवा भएको पत्र पठाउनका लागि तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणसम्मको पहुँच लगाइएको थियो।
सरुवाको खास कारण थिए कांग्रेस पृष्ठभूमीका अपराधी अभिषेक गिरीको राजनीतिक पहुँच। १६ कात्तिक २०७८ मा डिल्लीबजार जेल काठमाडौंबाट गुण्डा नाइके गिरी विराटनगर लगिए। उनलाई त्यहाँ चौकीदार बन्नु थियो।
अपहरण तथा शरीर बन्धकको अभियोग लागेका गिरीलाई विराटनगर लैजाँदा जेलभित्र र बाहिर दुवैतिर प्रदर्शन भयो। बाहिर आफन्त र भित्र कैदीबन्दीले नै नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन जेलभित्रै पनि थप प्रहरी परिचालन गर्नुपरेको थियो। अन्ततः जेल व्यवस्थापन विभागले गिरीलाई जिल्ला जेल सप्तरी पठाउन बाध्य भयो।
गिरी तिनै व्यक्ति हुन्, जसलाई जेलबाट आपराधिक गतिविधि र कैदीबन्दीलाई यातना दिएको अभियोगमा २३ चैत २०७४ मा डिल्लीबजार जेल स्थानान्तरण गरिएको थियो।
सत्तारुढ नेपाली कांग्रेसका नेताहरूको दबाव खेपेर गिरीलाई सरुवा गरेको जेल व्यवस्थापन विभाग उनलाई सप्तरी पठाउने निर्णयमा लामो समयसम्म टिक्न सकेन।
त्यहीबीचमा मोरङमा छोटो अवधिमै किरण गुरुङ र कात्तिक कामत गरी दुई चौकीदार फेरिइसकेका थिए। यसको पृष्ठभूमिमा पनि गिरीकै चलखेलले काम गरेको थियो। गिरीले नै जेलमा चाँजोपाँजो मिलाएपछि दुवैको मोरङबाट सरुवा भयो, सप्तरी जेल बसेको १७ दिनपछि अभिषेकलाई फेरि मोरङ लैजाने निर्णय भयो।
यसमा पनि सिंहदरबारकै पहुँचले काम गरेको बताइन्छ। मोरङ जेलमा हाजिर हुने वित्तिकै उनले चौकीदारको जिम्मेवारी पनि पाए।
ललितपुरको नख्खु जेलमा १७ वैशाख २०७० मा भएको तनावमा कैदीबन्दीले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चेतराज जोशी र प्रहरी नायब निरीक्षक श्यामकुमार लिम्बूलाई कब्जामा लिए।
यसको पृष्ठभूमिमा कुख्यात अपहरणकारी अमर टन्डनको हात थियो। उनले नख्खु जेलबाट सरुवा खोज्नका लागि कैदीबन्दीलाई भिडन्तमा उकासेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
जेलको आन्तरिक प्रशासनको नेतृत्व हत्याउने खेल कुन हदसम्म हुन्छ भन्ने दृष्टान्त २२ वैशाख २०७५ मा नख्खु जेलमा मारिएका भक्तबहादुर सुनार प्रकरण पनि हो।
‘सिरियल किलर’ अभिषेक सिंहलाई जेलको आन्तरिक प्रशासनमा प्रभुत्व जमाउनु थियो, तर सकिरहेका थिएनन्। त्यसैले उनले ‘जेलभित्रै प्राकृतिक वनस्पतिहरू प्रयोग गरेर मन्द विष’ बनाएका थिए। त्यसको परीक्षण सिंहले कैदी भक्तबहादुर सुनारमा गराएको भेटिएको थियो।
परीक्षण गर्ने क्रममा उनको मृत्यु भए तत्कालीन चौकीदार बुद्ध गुरुङ पनि दोषी ठहर हुने र त्यसको स्थान आफूले पाउने विश्वासमा उनले जेलभित्रै हत्या गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानबाट खुलेको थियो।
यति मात्र होइन जेलको चौकीदार बन्न एकजनाले २० लाखसम्म खर्च गर्छन्। एक पूर्वजेलर भन्छन्,‘यो तहसम्मको रकम खर्च गरेका कारण उसको अधिपत्य कैदीबन्दीबाट पुस्तकालय, खेलकुद, बिरामी, पसल लगायतबाट असुली गर्दा ठूला जेलका चौकीदारले महिनामा ५ लाख रुपैयाँसम्म कमाइ हुन्छ।’
एक पटक जेलमा आफ्नो राजकाज चलाइसकेकाहरु पछि निस्किएर अपराधमा हाँसी हाँसी जेल फर्किनुको कारण नै त्यहाँभित्रको सत्ताको पहुँच पनि हो। अहिले डिल्लीबजार कारागारमा रहेका पूर्वप्रदेश सांसद दीपक मनाङेको जसरी बाहिर गुन्डागर्दीबाट रजगज चलेको थियो, भित्र पनि उनको असाधारण हुकुमत हुन्छ।
बाहिर गुन्डागर्दीमा ब्यापक बिख्यात कमाएका समीरमानसिंह बस्नेत हुन् या अन्य विभिन्न अभियोगका डन भनिनेहरू जेलभित्र यस्तै रजगज र सत्ता चलाएर बसेको बताइन्छ।