रवि लामिछानेविरुद्धको थुनछेक बहस लम्बियो, अझै दुई दिन न्यायीक हिरासतमा बस्नुपर्ने अवस्था
काठमाडौं– कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दामा थुनछेक बहसका क्रममा रहेका रास्वपा सभापति रवि लामिछाने बुधबारसम्म न्यायीक हिरासतमा बस्नुपर्ने परिस्थिति बनिरहेको छ।
सोमबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट अहिले वकिल बोलिरहेका छन्। जाहेरवालाका तर्फबाट बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस जारी राखेका छन् भने अर्का बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बहस गर्न बाँकी छ।
यसैगरी जाहेरवालाकै तर्फबाट अधिवक्ता स्वागत नेपाललगायतले बहस गर्न बाँकी छ। जहाँ जवाफी बहसको समय सोमबार पाउन रवितर्फका वकिल पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र सुशील पन्तलाई मुस्किल छ।
पाएको खण्डमा एक जनाले मात्र बोलेर टुङ्ग्याउने रास्वपाको तयारी रहे पनि कार्यालय समयभित्र श्रेष्ठले बहस गर्न पाउने सम्भावना न्यून छ। यसो हुँदा रविलाई प्रहरीको जिम्मामा न्यायीक हिरासतमा सोमबार पठाइनेछ।
मंगलबार मकर संक्रातिका कारण सरकारी विदा भएकाले अदालत नखुल्ने भएकाले रविका वकिलले बुधबार मात्र बोल्ने मौका पाउनेछन्। त्यस दिन पनि कस्तो अवस्था रहन्छ भन्ने स्थिति अहिले रहेको छैन।