Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसकारण नेपाल प्रहरीको एसएसपी बढुवामा छुटे एसपी कमल थापा

मंगलबार, माघ १, २०८१

काठमाडौं– नेपाल प्रहरीका २५ जना प्रहरी उपरिक्षक (एसपी) बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवा हुँदा यहि लाइनको दाबेदारीमा रहेका कमल थापा अटाएनन्।

एसपी थापा विवादमा नतानिएको भए २५ जनाभित्र पर्ने थिए। यद्यपि राजनीतिक हस्तक्षेपका कारण एसएसपी बढुवामा सकस नभएको भने होइन। 

भदौमा नै हुनुपर्ने बढुवा अनेक उतारचढावले गर्दा माघ महिना छुन पुग्यो। 

प्रायः सहकर्मी एसएसपी बन्दा थापा छुट्नुको मुख्य कारण हो– भैंसेपाटी हनिट्रयाप प्रकरणमा मुछिनु।

सोही प्रकरणमा मुछिएकी इन्स्पेक्टर बिनुकुमारी शाही अहिले निलम्बित छिन्। 

थापासँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको थियो तर मुद्दा दायर गरेको थिएन। थप अनुसन्धानको विषय बताउँदै सीआईबीका कारण उनको जागिर त जोगिएको छ तर अनुसन्धानको क्रम नसकिएका कारण बढुवामा छुटेको उच्च अधिकारी बताउँछन्। 

‘अनुसन्धानका क्रममा रहेका अधिकारी बढुवा गर्दा प्रहरी संगठनमा नै विवाद हुने एउटा कारण हो’, उच्च स्रोतले क्यानडानेपाललाई भन्यो,‘अन्य कारणचाहिँ थाहा भएन।’

कतिपयले थापालगायतका केही एसपीले गर्दा नै बढुवा प्रक्रिया ढिलो भएका बताउँदै आएका थिए। उनीहरूको शक्ति केन्द्रको दबदबा रहेको दाबी गरिन्थ्यो।

खासगरी थापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापावासी भएका कारण उनले भिटो प्रयोग गरिरहेको चर्चा सतहमा आएको थियो। 

यद्यपि मूलकारणचाहिँ उनको विवादीत छवि नै रहेको बताइन्छ।

आखिर के थियो त्यो विवाद?

व्यापारीलाई हनि ट्रयापिङमा फसाएर प्रहरीकै मिलेमतोमा ३० लाख असुलिएको घटनाको अनुसन्धानमा थापा पनि तानिएका थिए।

सीआईबीले सरकारी वकिलमार्फत मुद्दा दायर गर्दा उनको नाम नराखे पनि कारण अनुसन्धान बाँकी रहेको बताएको थियो। तर उनीसँग बयान लिइएको थियो।

थापा योजनाकार समूहमै देखिएको दाबी गरिन्थ्यो। उनले यसका मुख्य योजनाकार ताज इस्लामसँग काठमाडौंको विमानस्थलस्थित कफिसपमा भेटेको बयानका क्रममा स्वीकारेका थिए। 

गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो। 

यसप्रकरणमा इन्स्पेक्टर शाहीसहित सहायक हवल्दार महेन्द्र हमाल र गिरोहका प्रमुख ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापालाई प्रहरीले पक्राउ गरी संगठित अपराध र आपराधिक लाभ मुद्दा चलाएको थियो। ताज इस्लामबाहेक सबैलाई अदालतले धरौटीमा रिहा गरिसकेको छ।

पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको थियो। जसकारण उनको समेत यसमा योजना देखिएको दाबी गरिन्थ्यो। 

गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी उच्च स्रोतको दाबी थियो।

२५ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्