Nic Ad Nic Ad
Nic Ad Nic Ad

२० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा ६ वटा मापदण्ड बाहिरका

मंगलबार, माघ १, २०८१

काठमाडौँ - काठमाडौँमा गुड्ने डिजेलका सवारी साधनमध्ये २० वटाको प्रदूषण जाँच गर्दा ६ वटा मापदण्ड बाहिर भेटिएका छन् । सोमबार काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले, ट्राफिक प्रहरी र महानगर प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँच गरेको थियो । 

माइतीघर मण्डलबाट बबरमहलतर्फको सडक खण्डमा जाँचिएका सवारी साधनमा ठुला बस, मिनी बस, माइक्रो बस र सामान ओसार्ने ट्रिपर थिए । 

महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । 

मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । 

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत –वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। 

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । 

जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।  महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले भने, ‘सवारी धनीले आफूजस्तै गरेर आफ्नो सवारी साधनको मर्मतसम्भार र सरसफाइमा ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्