सरकार ढाल्न प्रचण्ड सक्रिय, दिल्लीमा पनि पठाउँदैछन् दूत?
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगकै गठबन्धन ब्युँताउनेगरी सरकार ढाल्ने सक्रियता बढाएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई नै ०८४ सम्मको चुनावमा प्रधानमन्त्री मान्नेगरीको प्रस्ताव गरिरहेका प्रचण्डले भारतीय पक्षसँग पनि गोप्य वार्ता गरिरहेको उच्च स्रोतको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबिरोधी देखाएर प्रचण्ड त्यसैको आलोकमा कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनलाई ब्युँताउने अभ्यासमा रहेको बुझिएको छ।
ओलीलाई जसरी पनि प्रधानमन्त्रीको कुर्सीबाट हटाउने खेलमा लागेका प्रचण्डका पछिल्ला अभिव्यक्ति पनि एमालेबिरोधी मात्र रहनु यसको एउटा संकेत हो।
ओलीलाई भारतीय संस्थापनले औपचारिक भ्रमणका लागि नबोलाउनु, बीआरआई गरी चीन कार्ड खेलेको भन्ने प्रचण्डको अभिव्यक्ति सरकार ढल्न सक्ने इन्डिकेटर रहेको बताइन्छ।
प्रचण्डले मंगलबार मात्रै मिति नतोकि सरकार ढल्ने दाबी गरिसकेका छन्।
सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँगको कुराकानीमा उनलेसरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए।
सरकारको आयुबारे उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन। तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ। हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन।’
कांग्रेसभित्रका कतिपय नेता सरकारप्रति असन्तुष्ट रहनु र केही दिनमा नै प्रचण्डले भारतमा आफ्ना दूतका रुपमा भाजपाका नेतासँग कुराकानी गर्नका निम्ति कसैलाई पठाउने तयारी समेत गरेका छन्।
यसअघि उनका दुई छोरीहरु रेणु र गंगा दाहाल सक्रिय हुने गरेका थिए। यस पटक कसलाई सन्देश पठाउँदैछन् भन्नेचाहिँ टुंगो लागिसकेको छैन।