Nic Ad Nic Ad
Nic Ad Nic Ad

लस-एन्जलसमा फैलिरहेको डढेलोले अस्कर अवार्डको मनोनयन रोकियो

मंगलबार, माघ १, २०८१

काठमाडौं- अस्कर अवार्डको मनोनयन घोषणा कार्यक्रम दोस्रोपटक सरेको छ । पूर्वनिर्धारित १७ जनवरीको मनोनयन घोषणा स्थगित भएको छ ।

लस-एन्जलसमा फैलिरहेको डढेलोको कारण अस्कर मनोनयन घोषणाको नयाँ मिति २३ जनवरीलाई तोकिएको छ । ९७ औं अस्कर नामांकनको उक्त मितिलाई तय गरिएको एकेडेमीका अध्यक्ष बिल क्रेमर र अध्यक्ष जेनेट यांगले पुष्टि गरे ।

मनोनयन घोषणा मिडियाको अनुपस्थितीमा भर्चुअलरुपमा गर्ने तयारी छ । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण यसअघि पनि मनोनयन घोषणा र भोटिङ रोकिएको थियो ।

अस्करले विज्ञप्ति जारी गर्दै १८ फेब्रुअरीमा तोकिएको साइन्टिफिक र टेक्निकल अवार्ड पनि नहुने बताएको छ । तर, अस्कर वितरणको २ मार्चको कार्यक्रम भने यथावत राखिएको छ ।

डढेलोले हलिउडको अवार्ड सिजनलाई बाधा पुर्‍याएको देखिएको छ । क्रिटिक्स च्वाइस र प्रोड्युसर गिल्ड अवार्डको मनोनयन घोषणाजस्ता कार्यक्रम प्रभावित बनेका छन् । नेटफ्लिक्स श्रृंखला ‘लभ, मेघन’को प्रिमियर रोकिएको छ । यो श्रृंखला जनवरी १५ को सट्टा अब मार्च ४ मा प्रिमियर हुनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्