Nic Ad Nic Ad
Nic Ad Nic Ad

दमकल जान नसक्ने गल्लीमा काठमाडौँ महानगरद्धारा ड्राइराइजर जडान

मंगलबार, माघ १, २०८१

काठमाडौँ- आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान सुरु गरेको छ । 

यो काम केन्द्रबाट विपद व्यवस्थापन विभागले गरिरहेको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरु आफैँले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेका छन् ।  

 

केन्द्रबाट कार्यान्वयनमा आएका योजनामा वडा ३ को सुरुङ् गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भएको छ । 

वडा नं. १० का ५ वटा गल्लीमा प्रणाली जडान भएको छ । मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जडान भएको हो । वडा नं. १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नं. १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको विपद व्यवस्थापन विभागले जनाएको छ ।

पाइप जडान भएका स्थानमा जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले परीक्षण गरिरहेका छन् । 

वडा नं. २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्मको गल्लीमा १३० मिटर पाइप जडान गरेर गएको वर्ष नै परीक्षण गरेको हो । यसको लागत करिब ८ लाख रुपैयाँ हो । वडा नं. २९ को कालिञ्चोक मार्गमा, वडा नं. २५ को मांस गल्लीहुँदै महावौद्धतर्फको गल्लीमा पनि प्रणाली जडान भइसकेको छ । 

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । 

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । 

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्