Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

बुधबार, माघ २, २०८१

भैरहवा - बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुन लागेको हो । यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम ११ गतेलाई सारिएको हो ।

सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले लामो प्रतीक्षापछि ‘ब्रेक थ्रु’ गर्न लागिएको बताए । “यसका लागि प्रधानमन्त्री सहभागी हुने निश्चित भएको छ,” उनले भने । आयोजना प्रमुख अधिकारीका अनुसार प्रधानमन्त्रीको समयलाई हेरेर माघ ११ गतेलाई तोकिएको हो । ‘ब्रेक थ्रु’ लाई विशेष बनाउने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए ।


सुरुङमार्ग खनेर सक्न अब डेढ मिटर मात्र बाँकी छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको अति दुर्घटना स्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो । एक हजार १२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको आयोजना प्रमुख अधिकारीले बताए । जसमध्ये ‘ब्रेक थ्रु’ का लागि १.५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।’’

यसअघि नै तीन वटा बाइपास सुरुङ मुख्य सुरुङसम्म जोडिएको छ । बाइपास सुरुङ–३ को गत भदौ २६ मा, बाइपास सुरुङ–१ को असोज ४ मा र बाइपास सुरुङ–२ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास–१५१, २६१ र ३३० मिटर टनेल छन् । दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ समारोह हुने दिनमा साढे एक मिटर भागलाई विस्फोट गरिने छ ।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा ‘लाइनिङ’ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, ‘भेन्टिलेसन’, नालीलगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् । उनका अनुसार सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको छ ।

‘ब्रेक थ्रु’ पछि अन्य काम धमाधम अगाडि बढ्ने पनि सूचना अधिकारी ज्ञवालीले जानकारी दिइन् । सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ  । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ ।

अहिले चालु सडकमा ‘रक सेड’, ‘रक फल ब्यारियर’ र ‘स्लोप प्रोटेक्सन’ को काम हुने छ  । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको ठेक्का भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्