Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविमाथिको मुद्दामा आज पनि थुनछेक बहस, आजै फैसला आउन सक्ने

बुधबार, माघ २, २०८१

काठमाडौं– काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भइरहेको छ । गत सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सार्वजनिक बिदा भएकाले आज फेरि बहस हुन लागेको हो ।

थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै बसेर कानुनी लडाइ लड्ने भन्ने आदेश आउन सक्ने जनाइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीवार ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए ।  त्यहाँबाट छुटेपछि आइतबार लामिछाने आफैँ अदालतमा उपस्थित भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लामिछानेलगायत माथि आरोप छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्