Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीगण्डकी लोकमार्ग : फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित

बुधबार, माघ २, २०८१

पर्वत - निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोक मार्गको पर्वत खण्डमा पर्ने फलेवास-अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । 

संघीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि रु. एक अर्ब ५० करोड बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ । लोक मार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास-अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो । 

उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भई २०७५ साल जेठ २१ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा गत वर्ष मात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो । कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुन सकेको थिएन । सांसद पदम गिरीले फलेवास–अर्मादी सडक खण्डको काम सुरु हुने बताए। 

यसअघि उक्त खण्डका लागि रु. नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ विनियोजन भएको थियो । उक्त बजेटले फलेवास नगरपालिका-६ ढिकबाट कुश्मा नगरपालिका-४ अर्मादीसम्मको १४ किलोमिटर ट्र्याक खोलेको थियो । त्यसबाहेक अन्य काम भने हुन सकेको थिएन । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष मात्र खुलाइएको भए पनि सवारीसाधन सहज रूपमा चल्न सक्ने अवस्था छैन । 

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालयबाट बजेट सुनिश्चित भएसँगै अब उक्त खण्डको काम ठेक्का प्रक्रियामा जाने बताए । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसअन्तर्गत सेती वेणीबाट फलेवाससम्मको भाग कालोपत्र भइसकेको छ भने मालढुंगाबाट बेनीसम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी-जोमसोम-कोरला सडक आयोजनाले गरिरहेको छ । अब बाँकी रहेको फलेवास–अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडकले पर्वतको उत्तर-दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफ लाइनको रूपमा हेरिँदै आइएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्