घरि–घरि जुर्मुराउने नेपालका पुराना ‘पप स्टार’ कता हराउँछन्?
काठमाडौं– सदाबहार ब्यान्ड ‘नेपथ्य’ र साधगी जीवनमा रमाउँदै विश्वका ठूला मञ्चमा गुञ्जिने अमृत गुरुङ र उनको टीमबाहेकको खोजीनीति हो, यो।
नेपाली पप संगीतले पछिल्लो समय उल्लेखनीय प्रगति गरिरहेको छ। नयाँ पुस्ताका कलाकारले नेपाली पप गीतलाई आधुनिकता र मौलिकताको संगममा उभ्याइदिएका छन्।
युट्युब र सामाजिक सञ्जालमा नेपाली पप गीतहरूको लोकप्रियता बढ्दै गएको देखिन्छ।
तर नेपालका पुराना अनि पप संगीतको त्राण धानिदिने गायक कहिलेकाहीँ जुर्मुराएको र लामो समयचाहिँ हराएको प्रतीत हुन्छ।
एकताका टेलिभिजन हेर्दा होस् या एफएम रेडियो खोल्दा होस्, दीपक बज्राचार्य, जेम्स प्रधान, विवेक श्रेष्ठ, नवीन के भट्टराईकै स्वर घन्किरहेको हुन्थ्यो।
त्यसबेला दीपकले ‘ओ अमीरा’ पुर्कार्दै थिए, जेम्स पहेँलो वस्त्रमा बमबम भोलेमा मस्त–व्यस्त थिए। विवेक पोखरामा कन्दरा ब्यान्डको नेतृत्व गर्दै शब्दमार्फत् ‘हङकङ पोखरा’ गाउँदै थिए।
सुनील उप्रेती, सञ्जय श्रेष्ठ, हरिश माथेमालगायतको दबदबा चिर्न उनीहरुलाई मौलाउँदै गएको निजी रेडियो स्टेसनले खुबै सघायो, त्यसबेला।
काठमाडौंमा दुई–तीन दशक पहिलेसम्म हरेक हप्ता नयाँ–नयाँ लोक पप गीतहरु सार्वजनिक हुन्थे, रेडियो टेलिभिजन र पत्रपत्रिकामा अन्तर्वार्ता दिन गायक तथा ब्यान्डका सदस्यलाई भ्याइनभ्याई हुन्थ्यो।
यसपछि एक समय यस्तो आयो, त्यसलाई केही विज्ञ पपगीतको ‘स्याचुरेसन प्वाइन्ट’ मान्छन्।
त्यस विन्दुबाट एल्बम बिक्न छाडे। एल्बम बिक्न छाडेपछि सांगीतिक कलाकार निराश बने। त्यस अवधिमा धेरै गायक विदेश पसे, नेपालमै बसेकाहरु पनि कोही स्टुडियो खोलेर रमाए, कोही रेडियो टेलिभिजनका लागि जिङ्गल बनाउँदै बसे भने केहीले संगीत नै छाडेर अन्य पेसा अँगाले।
लामो समयसम्म गुमनाम रहेका गायकहरु, ब्यान्डका सदस्यहरु हिजोआज फेरि सांगीतिक बजारमा चहलपहल गर्न थालेका छन्। तर त्यो निक्कै दुर्लभ मात्र मान्न सकिन्छ।
एक किसिमले उनीहरु जुर्मुराएका हुन् कि भन्ने छनक दिइरहेका छन्।
पछिल्लो पटक उदाहरणका रूपमा गायक दीपक बज्राचार्य, जेम्स प्रधान, नवीन के. भट्टराई, कन्दरा ब्यान्डका विवेक श्रेष्ठ लगायत जुर्मुराएको जस्तो पाइयो।
युट्युबको ट्रेन्डिङमा पर्न सफल भयो दीपक बज्राचार्यको ‘मन मदन’ गीत। उनको यो गीत लामो समयपछि चर्चामा आएको हो।
दीपक र केही साथीहरु मिलेर दशकदेखि ‘थिम अफ रिदम’ अभियान चलाइरहेका छन्। ‘थिम अफ रिदम’ भन्नाले स्थानीय बाजाहरुलाई स्थानीय वाद्यवादककै सहयोगमा बजाउने र त्यस पुरानो संगीतलाई नयाँरूपमा सिर्जना गर्ने हो।
अर्का गायक जेम्स प्रधान पनि लामो समयको अन्तरालपछि छैटौं गीति एल्बम ‘क्रम’ लिएर झुल्किएका थिए। जेम्सलाई सबैले प्रयोगवादी वा फरक खालका गायक भनेर पनि चिन्ने गर्दछन्। ‘क्रम’ गीति एल्बममा उनले पहिलेकै जस्तो सुनिआएको शैलीलाई अपनाएका थिए।
२० वर्ष पहिले ‘आँखामा तिमीलाई’ बोलको सुपरहिट गीत गाएर संगीत क्षेत्रमा प्रवेश गरेका थिए नवीन के. भट्टराई। उनको गीतको मात्रै चर्चा हुँदैनथ्यो, सँगै ‘क्याप टोपी’को पनि चर्चा चुलिन्थ्यो।
तर उनी पनि लामो समय हराए। २०७० सालमा ६ वर्ष हराएर फेरि एउटा एल्बम ‘काठमाडौंमा’ लिएर आए। त्यसपछि फेरि गायब भएका उनी एउटा गीत ‘चाहना एउटै मेरो’ लिएर संगीतको दुुनियाँमा ब्याक त भए तर लयमा रहेनन्। अहिले सामाजिक सञ्जालको टिकटकमा देखिए पनि खासै गीत आउन सकेका छैनन्।
‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘लेककी हे माया मोहनी सबैलाई लगाउने,’ ‘हङकङ पोखरा’ जस्तो चर्चित गीत ल्याउने ब्यान्ड कन्दरा ‘हिमालमुनि’ बोलको गीत लिएर फर्किएको थियो। तर फेरि उसले यो लयलाई बिर्सिएको जस्तो पाइन्छ।
ब्यान्डका केही मेम्बरहरु विदेशी कार्यक्रममा जाँदा उतै हराएपछि यो ब्यान्ड केही वर्षदेखि निस्क्रिय बनेको थियो। यसका मुख्य गायक विवेक श्रेष्ठ पनि नेपालकै स–साना स्टेज कार्यक्रम र तीन चार वर्षको फरकमा एक दुई गीत गाएरै दिन बिताइरहेका थिए।
५० को दशकमा धेरै पप गायकहरु उदाएका थिए तर तिनीहरु लामो समयसम्म चलमलाउन सकेनन्। तर, अहिले फेरि उनीहरु चलमलाउने छनक त देखाए तर निरन्तरता हुन सकेन।
संगीतकार र गायक–गायिकाहरूले गीतमा नवीन शैली र प्राविधिक सुधार ल्याउँदै, अन्तर्राष्ट्रिय संगीतसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेका छन्।
नेपाली पप संगीतले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा पनि उपस्थिति जनाउन थालेको छ। नयाँ प्रविधि र डिजिटल प्लेटफर्महरूको उपयोगले कलाकारहरूको पहुंच व्यापक बनाएको छ।
तर, पप संगीतले भोग्नुपरेका चुनौतीहरू पनि छन्। मौलिकतालाई कायम राख्दै अन्तर्राष्ट्रियस्तरमा स्थान बनाउन प्रयासरत नेपाली कलाकारलाई पर्याप्त लगानी र प्रोत्साहनको आवश्यकता छ।
समग्रमा, नेपाली पप संगीतले युवा पुस्तालाई मनोरञ्जन दिनुका साथै सांगीतिक पहिचान प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिइरहेको छ। यो क्षेत्रले भविष्यमा अझ नयाँ उचाइ हासिल गर्ने आशा गर्न सकिन्छ।