Nic Ad Nic Ad
Nic Ad Nic Ad

तस्करीको ट्रान्जिट प्वाइन्ट नेपालमा छैन रक्तचन्दनको जंगल, कताबाट आउँछ अनि कहाँ पुग्छ?

बुधबार, माघ २, २०८१

काठमाडौं– काठमाडौंको पेप्सीकोलामा चार टन रक्तचन्दन बरामद गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ।

नेपालमा फेला परेको उक्त रक्तचन्दन यहाँ उत्पत्ती नभई तस्करीको ट्रान्जिट मात्र बनाइने गरेको छ। खासगरी भारतमा जंगल नै रहेको र केही मात्रामा पाकिस्तान र श्रीलंकामा यो रुखका रुपमा उत्पत्ती हुन्छ।

भारतीय बाटो हुँदै चीनसम्म तस्करी हुने भएकाले नाका जोडिएको सिन्धुपाल्चोकमा बढी रक्तचन्दन फेला पर्दै आएको यसअघिका कतिपय विवरणले पुष्टि गर्छ। 

०७६ सालमा नेपाल सरकारले कानूनी प्रक्रिया पूरा भएको जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको थियो। 

भारतीय दूतावासलाई जिम्मा लगाउने काम नेपाल सरकारले गर्दै आएको छ।

सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको थियो। बरामद रक्तचन्दन दशकौंदेखि काठमाडौँको बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा सुरक्षासाथ राखिने गरेको छ। 

सबैभन्दा बढी परिमाण वन विभागमा राखिन्छ। 

विभाग परिसरमा मात्र यसको सुरक्षाका लागि कर्मचारी र वन रक्षकबाहेक सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० सशस्त्र प्रहरी अहोरात्र तैनाथ हुने गर्छन्। 

वन तथा भू–संरक्षण विभागका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमानाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो ।

नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो। रक्तचन्दन सो महासन्धिको अनुसूची २ मा सूचीकृत वनस्पति हो। महासन्धिको व्यवस्थाविपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको थियो। 

‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ बनेपछि बरामद रक्तचन्दनको सहज व्यवस्थापन गर्ने कानूनी बाटो खुलेको थियो।

ऐनबमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको सङ्कटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने व्यवस्था छ। 

फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नुपर्छ। नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ।

ऐनको दफा ३० को उपदफा ६ मा जीवित नरहेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति सम्बन्धित मुलुकले फिर्ता लैजान इच्छा व्यक्त नगरेमा वा इच्छा व्यक्त गरे पनि तोकिएको अवधिभित्र फिर्ता लैजान नसकेमा नष्ट गर्नुपर्ने, आवश्यक शर्त तोकी शैक्षिक, वैज्ञानिक अध्ययन अनुसन्धान वा धार्मिक कार्यका लागि सार्वजनिक संस्था वन निकायलाई उपलब्ध गराउन सकिने उल्लेख छ।

विसं २०६५ माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ हजार ९२८ किलो रक्तचन्दन भारतले फिर्ता लगिसकेको थियो। त्यसपछि मन्त्रिपरिषद्बाट विस २०७१ फागुन १२ गते निर्णय भएको २७ हजार १६६ किलो रक्तचन्दन भारतले हालसम्म फिर्ता लैजान भनिएको थियो।

कुनै बेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँजस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो  यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करी बन्द भएको छ। 

विसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट कूल दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन काठ बरामद गरिएको थियो। 

विभागका अनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो। यसैगरी पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलो रक्तचन्दन बरामद भएको विभागको अभिलेख छ।

०७९ सालमा  विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेकोे विवरण सार्वजनिक भएका थिए। 

वैज्ञानिक भाषामा टेरोकार्पस सान्टालिनस भनिने यो बिरुवा दक्षिण भारतमा सामुन्द्रिक सतहदेखि १ हजार मिटरसम्म पाइन्छ। यसका साथै पाकिस्तान र श्रीलंकामा पनि रक्तचन्दन पाइन्छ।

रक्तचन्दनलाई साइटिसको अनुसुची २ मा तथा आइयुसीएन रेड लिस्टको थ्रेटन क्यटागोरीमा पनि राखिएको छ। 

यसको काठ बलियो हुन्छ फर्निचर तथा खेलौना (माला, ब्रासलेट, धुपौरो, घडी लगायात अन्य अन्य अवयवहरु बनाउन पनि प्रयोग गरिन्छ। काठको बास्ना मिठो हुन्छ, त्यसैले यसको तेल विभिन्न स्याम्पु, पफ्र्युम लगायतमा पनि प्रयोग गरेको पाइन्छ। यसको काठको धुलो श्वास–प्रश्वास, दम लगायतका विभिन्न औषधीहरुमा समेत प्रयोग गरिन्छ।

चीनमा हुनेखाने वर्गले फर्निचर बनाउन यसको प्रयोग गर्छन्। घरमा रक्तचन्दनको फर्निचर हुनुलाई शानको रुपमा लिइन्छ। त्यसै गरी ठूला र र महंगा होटेलहरुले जाडो याममा कोठा न्यानो गराउन वा तातो दिएर बास्नादार गराउन पनि रक्तचन्दनको प्रयोग गरेको पंक्तिकार स्वयं साक्षी बनेको थियो कुनै बेला।

यसको भित्री काठ गाढा रातो हुन्छ र फल पनि रातो नै हुन्छ। रक्तचन्दनको काठको मूल्य बजारमा प्रतिकिलो १५ देखि २० हजारसम्म छ। त्यसैले, यसको खेती गर्न मान्छे लालायित हुन्छन्। तर, यसको काठ बेच्ने हुन १५÷२० बर्ष लाग्ने हुँदा नगदेबाली जस्तो तत्काल नाफा लिन सकिँदैन।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्