सरकारमा सहभागी कांग्रेसका मन्त्रीलाई देउवाले बुढानिलकण्ठ बोलाउनुको कारण र अर्थ
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई सामूहिक रुपमा बुढानिलकण्ठमा बोलाएका छन्।
देउवाको सचिवालयका अनुसार विहीबार बिहान उनले मन्त्रीहरूलाई बुढानिलकण्ठमा बोलाएका हुन्। कांग्रेसबाट उपप्रधानसहित सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंह छन्। उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।
गृहमा रमेश लेखक, स्वास्थ्यमा प्रदीप पौडेललगायत रहेका छन्। ६ महिनासम्म पनि सरकारको कामकारबाही गतिलो नभएको भनी कांग्रेसका नेताहरुले नै आलोचना गरेपछि मन्त्रीहरुलाई सभापतिले सामूहिक रुपमा बोलाउनु अर्थपूर्ण मानिएको छ।
अर्कातिर विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले यो सरकार आफैं र चाँडै ढल्ने बताइरहेका बेला देउवाले मन्त्रीहरुलाई कस्तो निर्देशन दिनका लागि बोलाएका हुन् भन्ने आशंका र संशय पनि पैदा भएको छ।
कांग्रेस नै सहभागी भएको सरकारका प्रधानमन्त्रीलाई छिमेकी मुलुक भारतले अहिलेसम्म पनि भ्रमणको निम्तो नदिएको स्थितिले पनि देउवाको निर्णयलाई शंकाको सुविधाले हेर्न सकिने कतिपयको बुझाई रहेको छ।