Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं अदालतमा उपस्थित भएनन् छवि, एक सातादेखि सम्पर्कविहिन

बुधबार, माघ २, २०८१

काठमाडौं- पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचत रकम अपचलन गरेको मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा  छाड्न आदेश दिएका छविलाल जोशी एक सातादेखि सम्पर्कविहिन भएका छन्।

गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारीको बचत रकम अपचलनमा ८८ लाख धरौटीमा छोड्न आदेश दिएका उनी त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेमा नभएका हुन्।

कास्की प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा आफैँ हाजिर हुने शर्तमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको जिम्मा लगाएर पठाएको थियो।

शुक्रबार अदालतमा उपस्थित हुनुपर्नेमा जोशी अर्को साताको बुधबार भइसक्दा समेत उपस्थित नभएको जिल्ला अदालतका काठमाडौंका सूचना अधिकारी अमर बहादुर चन्दले जानकारी दिए। कास्कीमा मुद्दा चलेका स्वर्णलक्ष्मीका प्रतिवादीमध्ये रवि लामिछाने मात्रै अदालतमा उपस्थित भएको उनले बताए।

उनले भने, ‘कास्कीमा पनि मुद्दा चलेका स्वर्णलक्ष्मीका प्रतिवादीमध्ये रवि लामिछाने मात्र अदालतमा उपस्थित भएका हुन्। अन्य प्रतिवादी उपस्थित भएका छैनन्।’

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले पनि छविलाल जोशी अदालतमा उपस्थित भएको जानकारी नभएको बताए।

रवि लामिछाने पनि शुक्रबार उपस्थित हुनुपर्नेमा भएका थिएनन्। पोखराबाट काठमाडौं आउने हवाई टिकट नपाएको र स्थल मार्ग भएर आउँदा समय लागेको कारण दिँदै आइतबार मात्र उनी अदालत उपस्थित भएका थिए।

न्यायाधीशले अन्य मुद्दा वा अनुसन्धान बाँकी भए प्रहरीमा बुझाउन आदेश दिनुपर्नेमा आदेश नदिई जमानीमा छाड्न लगाएका थिए। प्रहरीले त्यही आदेशमा टेकेर सबैलाई छोडेको थियो।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्