अदालत परिसरमा वरिष्ठ अधिवक्तालाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं - जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललित केसी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई पक्राउ गरेको थियो । लगत्तै उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको थियो ।
रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।
उनका अनुसार, इजलासबाट निस्किनासाथ उनलाई सुरुमा युट्युबरहरूले घेरेका थिए ।
बहसबारे सोधिएपछि आफूले केही बोल्न खोज्ने क्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै एउटा हुलले आएर दुर्व्यवहार गरेको त्रिपाठीको भनाइ छ ।
‘मैले बोल्दैगर्दा उनीहरूले घेरेर लछारपछार गर्न थाले, भुइँमा लडाइ दिए’, उनले अनलाइनखबरसँग भने, ‘मलाई पनि एक दुई घुस्सा लाग्यो । तर, बढी चोट मलाई बचाउन खोज्नेलाई लाग्यो ।’
यसपछि दुर्व्यवहारमा संलग्नलाई खोजेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।