Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण बाँकी

बुधबार, माघ २, २०८१

ललितपुर- विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ।

उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ।

राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् ।

उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनर्निर्माण अघि बढेको छ ।’

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरको पुनर्निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ । भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनर्निर्माण भइ उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरुको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए ।

उनका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भए पनि आर्थिक अभावका कारण पुनर्निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरुको सहयोगबाट पुनर्निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्