बिमाको रकम हात पार्न ‘तस्कर प्रेमी’सँग मिले पतिको हत्या, यस्तो छ जनककुमारी रानाको अपराध
काठमाडौं– कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ बर्षिय सियाराम रानाको हत्यामा उनकी पत्नी जनककुमारी रानाको योजनामा भारतीय तस्कर प्रेमीको प्रयोग गरेको खुलेको छ।
घटना २ महिना अघिको हो।
प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी पतिको हत्या गराएकी हुन्।
अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी पत्नी जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।
गएको मंसिर १३ गते सियाराम आफ्नो घरमा मृत भेटिएका गिए।
त्यसको भोलिपल्ट प्रहरीले उनकी पत्नी जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानको क्रममा भारतीय नागरिकको समेत संलग्नता खुलेपछि प्रहरीले भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि पक्राउ गरी झिकायो।
सियारामको हत्या उनकी पत्नी जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। भारतमा तस्करीमा संलग्न रहेका फारुखसँग मिलेर जनककुमारीले हत्याको योजना बनाइन् अनि त्यसलाई फत्ते गर्न आफैं लागि परेको बयानका क्रममा खुलेको हो।
सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए। उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जनककुमारीलाई जिल्ला अदालतले पुस ८ गते पूर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार भारतीय नागरिक फारुखले नेपाल–भारत सीमाबाट तस्करीका सामान ओसारपसारको काम गर्दथे। यसैक्रममा जनककुमारी र फारुखबीच चिनजान भएको थियो।
उनीहरुले सियाराम रानाको हत्या गरिसकेर शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो। प्रहरीले यो हत्या हुन सक्ने त्यहिँबाट आशंका गरेको थियो।
टाउको र तालुमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो।
खाटमुनि रगत लागेको ईंटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए।
सोधपुछका क्रममा सियारामकी पत्नी जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन्। त्यसपछि उनलाई पक्राउ गरेर मुुद्दा चलाइएको थियो।