Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिपाठीमाथिको आक्रमणले रुपन्देही सुनुवाईमा रविलाई पर्न सक्ने सम्भावित सकस

बिहीबार, माघ ३, २०८१

काठमाडौं– जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका सन्दर्भमा भएको बहसपछि रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख बैंक धरौटीमा बाहिरै बसी मुद्दाको पूर्पक्षको अवसर दिइएको छ।

तर सोही सुनुवाईपछि बहस सकेर बाहिर निस्कँदा रवि समर्थकले जाहेरवालाका वकिल बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेका थिए। रास्वपाले यस आक्रमणप्रति खेद प्रकट गरी विज्ञप्ति जारी गरे पनि आक्रमणमा परेका त्रिपाठी भने आक्रोशित छन्।

उनले भनेका छन्,‘वकिलमाथि नै आक्रमण गर्न संगठित रुपले लगाइएको छ। यसअघि टेलिफोन गरी धम्की पनि आएका थिए। पीडितले न्याय पाउने सम्भावना कम रहन्छ। साक्षी र बयानकर्तालाई धम्की र आक्रमण हुँदैन भन्ने ग्यारेन्टी छ र? जबकि, वकिलमाथि नै आक्रमण भयो।’

रवि लामिछानेको यो दोस्रो सुनुवाई थियो। लामिछानेले सुप्रिम सहकारी रुपन्देही, सानो पाइला पर्सा र साहारा सहकारी चितवनमा पनि बयान र थुनछेक बहसमा सहभागी हुन बाँकी छ। यसबीचमा त्रिपाठीमाथिको आक्रमण उनका लागि सकसपूर्ण आदेशको कारण बन्ने सम्भावना बलियो छ।

सहकारी पीडित उजुरीकर्ताका तर्फबाट निशुल्क बहसमा उत्रिएका बरिष्ठ अधिवपक्ता दिनेश त्रिपाठीमाथिको आक्रमणले अब हुने ‘सहकारी प्रकरणको सुनुवाई’मा रवि लामिछानेलाई विभिन्न सकस पर्न सक्ने अवस्था रहने आधार तयार पार्ने कतिपय कानुनका जानकार बताउँछन्। 

उनका समर्थकलाई अदालतको गेटसम्म पुग्ने अवसर हुनेछैन भने पीडितलाई धम्क्याउने र आक्रमण समेत गर्न सक्ने सम्भावना देखाउँदै फरक प्रकारको आदेश आउन सक्छ। 

एक बरिष्ठ कानुन व्यावसायी भन्छन्,‘अब सुनुवाई गर्नुपर्ने अदालतले यस्ता घटनालाई नजरअन्दाज गर्न सक्तैन। अदालतलाई, पीडितलाई धम्की दिने अनि आक्रमण गर्न सक्ने दलील पेश हुँदा पूर्पक्षका लागि थुनाको आदेश समेत आउने सम्भावना रहन्छ।’

सहकारी प्रकरणमा हिरासतमा रहँदादेखि नै रास्वपा पार्टीका पूरै पदाधिकारीसहित सांसद पोखरामा प्रदर्शनमा पुगेका थिए। उनीहरू संगठित रुपमा नै सक्रिय रहने गरेका दलील र उदाहरणका रुपमा त्यो पनि देखाइन सकिनेछ। 

यसअघि भैरहवामा रास्वपाका नेता कार्यकर्ताले बटुलेको हुलको विषयलाई पनि अबको बहसका क्रममा जाहेरवाला र सरकारी तर्फका वकिलले दलीलका रुपमा पेश गरी पूर्पक्षमा पनि थुनामा राख्नुपर्ने माग गर्न सक्छन्।

त्रिपाठी भन्छन्,‘आज वकिलमाथि आक्रमण गर्न लगाइएको भन्छु म। भोली न्यायाधीशमाथि आक्रमण हुँदैन भन्ने आधार छ र? त्यो खतरा कायम रहेका कारण थुनामा राखेर नै पूर्पक्ष गर्नुपर्ने माग अनिवार्य बन्नुपर्छ।’

कतिपय स्वतन्त्र कानुन व्यावसायीका अनुसार काठमाडौंमा बरिष्ठ अधिवक्तामाथि भएको आक्रमण जसले गरे पनि यसले रवि लामिछानेलाई अबका सुनुवाईमा कठिन हुन सक्ने आधार तयार पारेको बताउँछन्।

रविले अब रुपन्देही, चितवन र पर्सामा बयान अनि थुनछेक बहसमा सहभागीता जनाउनुपर्ने हुन्छ। उनलाई अदालतमा आफैं उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाइएको थियो।
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्