सो कल्ड अभियन्ताः गाली गलौज र मुक्का मुक्कीमा उत्रिएर प्रचारबाजी
काठमाडौं– काठमाडौंको चाबहिल मित्र पार्कमा केही बर्षअघि एक निजी व्यावसाय सञ्चालन गरेका व्यक्तिलाई घेराबन्दीमा पार्न पुगेका थिए ज्वाला संग्रौला, सर्मिला बाइबासहित दर्जन बढीको टोली।
छलफलका नाममा त्यहाँ कार्यरत एक महिला कर्मचारीबारे कुरा गर्न जाँदा सम्बन्धित व्यावसायीलाई बोल्न समेत नदिई धम्कीपूर्ण शैलीमा पैसा तिराउने कर्ममा उनीहरू सफल भए।
पैसा नदिए विभिन्न प्रकारका उजुरी प्रहरीमा गराउने र सामाजिक सञ्जालमा पनि पोस्ट गर्दिने धम्की दिएका थिए।
यी सो कल्ड अभियन्ता मध्यकी संग्रौला अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य छिन् भने बाइबा अभियानकै नाममा उग्रता प्रस्तुतीकरणकै चरणमा छिन्।
यसबीचमा बाइबाले विभिन्न व्यक्तिलाई हातपात गरेको, पत्रकार ऋषि धमलासँग विभिन्न विवादमा तानिएका प्रकरण सतहमा आएका थिए। मुखमा जे आयो त्यहि बोलेर सामाजिक सञ्जालमा पोस्ट गर्न माहिर बाइबा बेलगाम छिन्।
एकाध पटक अभद्र व्यवाहार र साइबर अपराधमा हिरासत बसेर धरौटीमा छुटे पनि उनको चेत फर्किएको छैन। संग्रौला भने रास्वपाको केन्द्रीय समितिमा बसे पनि त्यहि उग्रता र विवादको बाटोमा छिन्। उनले विवादीत मेडिकल ब्याबसायी दुर्गा प्रसाईंलाई साइबर अपराधमा हिरासतमा बस्न बाध्य पारिन्।
अहिले लामिछाने पत्नी निकिता पौडेलको नारी नामको टेलिभिजनमा यस्तै बेलगाम सो कल्ड अभियन्तालाई बोलाएर अन्तरवार्ता लिने गर्छिन्।
युट्युवर र विभिन्न विवादमा तानिएका व्यक्तिलाई संग्रहित गरी प्रायोजित आन्दोलनको नेतृत्व गर्ने मध्यका अर्का सो कल्ड अभियन्ता हुन्, हेमराज थापा। समय सान्दर्भिक विषयमा युट्युवमा आक्रामक शैलीमा प्रस्तुत हुने र ‘मनपरी’ तर्क गर्नेमा उनी पनि पर्छन्।
रास्वपामा सुरुका चरणमा राजनीति गरेका तर मनपरी बोल्दै हिँड्ने अर्का बेलगाम पात्र हुन् डा. निकोलस भुसाल।
भुसालले रवि लामिछाने कास्की प्रहरी हिरासतमा रहेका बेला तस्बिर सार्वजनिक गरेर अर्को बितण्डा खडा गरेका थिए। गृहमन्त्री रहेका बेला लामिछानेलाई नै गाली गलौज गरी पछि माफी मागी उनकै रिहाईको दुहाईमा हिँडेका भुसाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउन लाग्दा अर्को अभियान पनि चलाएका थिए।
रवि लामिछानेको तस्बिर सार्वजनिक गरी गोपनियता भंग गरेको अभियोगमा उनलाई पनि साइबर ब्युरोले पक्राउ गरेको थियो। पछि धरौटीमा छुटे।
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले गल्ती स्वीकार्दै माफी मागेकी छन्।
अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेका बेला तामाङले आफ्नो गल्ती स्वीकारेकी हुन्।
पशुपति क्षेत्र विकास कोषमा पुगेर आशिकाले सुरक्षार्थ खटिएका प्रहरी र कोषका कर्मचारीलाई अभद्र व्यवहार गरेकी थिइन्। कोषकै उजुरीका आधारमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।
प्रहरी हिरासतमा पुगेपछि आशिकाले आफ्नो बोल्ने शैली र व्यवहारका कारण अरूलाई दुःख परेकोमा माफी मागेकी हुन्। आशिकालाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनलाई भेट्न कोही पनि पुगेका छैनन्। हिरासतमा अन्य थुनुवाले पाउने सुविधा उनले पाएकी छिन्।
समाजमा सकारात्मक काम गर्नुको साटो अन्यको हुर्मत लिने हिसाबले प्रकट भएका यस्ता अभियन्ता कोही पनि विवादरहित छैनन्। सबै विवादको घेरामा परेका छन् भने कुनै न कुनै हिसाबले प्रहरी थानासम्म पुगेका छन्।
नेपालमा कानुनको कार्यान्वयनमा सरकारको कमजोरी, विभिन्न तहका सरकारले सही हिसाबले काम नगर्दा यस्ता ‘सो कल्ड अभियन्ता’ हावी हुने गरेको पाइन्छ।
हावी मात्र होइन उनीहरू यस्ता गतिविधिको प्रचारमार्फत राजनीतिक पहुँच र कानुन निर्माण गर्ने तहसम्म पनि पुगेका छन्। त्यसका उदाहरण हुन् राप्रपा महामन्त्री तथा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)।
राजनीतिक दलमा आवद्धता जनाउनुअघि उनी पनि क्यामरा बोकेर विभिन्न मन्त्रालयदेखि अनेक ठाउँमा बेतिथि भएको भन्दै युट्युवसहितको टोली बोकेर हिँड्ने गर्थे।
यहि क्रममा उनीमाथि चितवनमा निर्घात आक्रमण समेत भएको थियो। तर, उनलाई त्यसले फाइदा गरिदियो र राजसंस्था मान्ने राजनीति दलको आवरणमा चुनावमार्फत सदनसम्म पुग्न भ्याए।