कोइरालादेखि साउदसम्मको मुख बन्द गराउँदै मन्त्रीलाई कांग्रेस सभापति देउवाका ७ निर्देशन
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतर पक्षका नेता डा. शेखर कोइरालादेखि अध्यादेशको बिरोध गर्ने एनपी साउदसम्मको मुख बन्द गराइदिएका छन्।
बुढानिलकण्ठमा बिहीबार सरकारमा रहेका कांग्रेसतर्फका राज्यसहित १२ मन्त्रीलाई बोलाएर देउवाले भने,‘सरकारलाई गतिशिल बनाउन सहमतिमा अध्यादेश आएको हो, बिरोध गर्न आवश्यक छैन।’
देउवाको यो भनाईसँगै अब कोइरालादेखि साउदसम्मले गरिरहेको अध्यादेशको आलोचना बन्द हुने अपेक्षा कांग्रेसले गरेको छ।
यसैगरी कांग्रेसले सरकारमा रहेका मन्त्रीहरूलाई ७ वटा निर्देशन दिएको छ।
पहिलो, सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने।
यस्तै, विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पु¥याउन सक्रियता साथ कार्य गर्ने।
तेस्रोमा, आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने।
यसैगरी, चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने।
पाँचौमा भने हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुन भनिएको छ।
यस्तै, सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने र अन्तिममा पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिनका लागि निर्देशन भएको छ।