Nic Ad Nic Ad
Nic Ad Nic Ad

पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने

बिहीबार, माघ ३, २०८१

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महँगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ ।

अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सय जनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ ।

‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौँ,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवन रक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्त्वपूर्ण भएको न्युरो चिकित्सक डा. राजु पौडेलले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्