राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न संसदीय समितिले बोलायो गृहमन्त्री
काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।
आज (बिहीबार) बसेको समितिको बैठकले शुक्रवार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।
बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रवार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए । उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रालयलाई बोलाएका छौँ ।’
अर्को बैठक शुक्रबार मध्यान्ह साढे १२ बजे बस्ने जानकारी दिए । केही क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि नागरिक स्तरबाट अप्ठेरो परेको गुनासाहरू आउन थालेका थिए । सरकारले २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।
उक्त विषयमा सर्वोच्च अदालतमा अधिवक्ताद्वय रामबहादुर रावल र विमल पोखरेलले छुट्टाछुट्टै रिट निवेदन पनि दर्ता गराएका थिए । यस्तै, मोवाइलको सिमकार्ड खरिद गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । यसरी राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकहरू मारमा पर्ने भन्दै तत्काल अनिवार्य नगर्नू भनी रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको थियो । सर्वोच्चले परिचयपत्र तत्कालका लागि कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश पनि जारी गरेको थियो । राष्ट्र बैंकले पनि राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न निर्देशन दिएको थियो ।