Nic Ad Nic Ad
Nic Ad Nic Ad

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग

बिहीबार, माघ ३, २०८१

काठमाडौं – वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको छ । 

सङ्घका अध्यक्ष मनोज कार्कीले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमाथिको प्रतिबन्ध कायमै रहेको भन्दै यही माघ ९ गतेसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवाहरू पूर्ण रूपमा स्थगन गर्नुपर्ने अवस्था आउने बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न सङ्घ प्रतिबद्ध रहेको सङ्घले जनाएको छ । हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा सञ्चालन कम्पनीहरूलाई ठूलो आर्थिक नोक्सानी हुने भन्दै सङ्घले यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।

हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउनेलगायतका पर्यटकहरूले आफ्नो गन्तव्य परिवर्तन गरी अन्य मुलुकतर्फ जाने भएकाले सङ्घले निर्बाध उडान सञ्चालनको माग गरेको छ । त्यसो नभए कोभिड महामारीपछि विस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय नै धराशायी हुनुका साथै विदेशी मुद्रा आर्जन तथा राजस्वमा असर पर्ने सङ्घको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्