Nic Ad Nic Ad
Nic Ad Nic Ad

डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने

शुक्रबार, माघ ४, २०८१

पोखरा -पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसाललाई आज जिल्ला अदालतमा पेस गरिने जानकारी दिए ।

उनलाई प्रहरीले साइबर अपराधको असुरमा विहीबार पक्राउ गरेको हो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए ।

पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए ।

‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले त्यहीअनुसार अनुसन्धान गर्दा पक्राउ गर्नुपर्ने देखिएको हो,’ एसपी ओलियाले भने, ‘भुसाललाई शुक्रबार अदालतमा पेश गरिने छ ।’

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की जिल्ला प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । भुसालले फेसबुक लाइभमा आएर त्यो फोटो आफूले खिचेको र फोटो सार्वजनिक गर्दा खराब नियत नराखेको अभिव्यक्ति दिएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका रास्वपा सभापति लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्