Nic Ad Nic Ad
Nic Ad Nic Ad
कांग्रेस

देउवाको प्रष्ट तर्कको अर्थः यो सदनमा अर्को सरकार बन्नै सक्तैन

प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम विकल्पको सरकार
शुक्रबार, माघ ४, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालैका दिनमा भनेका थिए,‘यो सरकार आफैं ढल्छ। यसले त्यहि हिसाबको गतिविधि सुरु गरेको छ।’

प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्काउन सकिने स्वप्न संसार तयार पार्नु नयाँ कुरा भएन। १८ महिना सरकारको नेतृत्व गर्दा उनले कहिले कांग्रेस त कहिले एमालेसँगको गठबन्धनलाई आलोपालो गराए। 

त्यसरी नै यो गठबन्धन भत्काएर कांग्रेसलाई काखी च्याप्न सकिने उनको ध्येय थियो। 

कांग्रेस र एमाले गठबन्धनको विकल्पमा अर्को सरकार अहिले बन्ने स्थिति छैन। माओवादी अध्यक्ष प्रचण्ड विभिन्न कसरत गरिरहेका छन्। 

आन्तरिकदेखि बाह्य शक्तिको हस्तक्षेपको अपेक्षा राखिरहेका प्रचण्डको प्रयास यसै खेर जानेगरी देउवाले स्पष्ट तर्क अघि सारेका छन्। उनले कांग्रेसका मन्त्रीहरूलाई राखेर भनिदिए– यो सरकारको विकल्प खोज्नेछैनौं।

देउवाको यहि तर्कको अर्थ हो एमाले आफैं भड्किएन भने अहिलेको प्रतिनिधि सभामा अर्को सरकार बन्न सक्तैन। सदनका सबै दल मिल्दा पनि कांग्रेस र एमाले गठबन्धनको विकल्पमा बहुमत जुट्ने अवस्था छैन। 

यो सरकार लामो समयसम्म जान सक्ने अर्को संकेत कांग्रेसका पदाधिकारीले गरेको टिप्पणी पनि हो। मन्त्रीहरूसँगकै छलफलमा महामन्त्री गगन थापाले भने,‘अध्यादेश कांग्रेससँगको सहमतिका आधारमा जारी भएको हो।’

यसमा देउवाले थपे,‘सरकारले केही काम गरेन भन्ने खालको सन्देश जान सक्ने भएर अध्यादेशमार्फत पनि कानुन संशोधन गरी प्रभावकारी काम गर्नका निम्ति सहमतिमै अघि बढेका हौं।’

अध्यादेश प्रमाणिकरणमा राष्ट्रपति रामचन्द्र पौडेलले केही दिन गरेको बिलम्बलाई प्रचण्डले कांग्रेस र एमाले सम्बन्धको प्रतिकूलता बढीरहेको ठानेका थिए। 

तर देउवाको स्पष्ट निर्देशन र तर्कले उनको ठम्याईलाई गलत साबित गरेको छ। 

‘कांग्रेस र एमालेलाई पालैपालो धोका दिएका कारण हामी मिलेको भन्ने जगजाहेर छ। ५ पटकसम्म कांग्रेस एमाले मिलेर सरकार बनाएको र महत्वपूर्ण अनि ठोस काम गरेका पर्याप्त उदाहरण छन्’, कांग्रेसका एक नेता भन्छन्,‘संविधान जारी गर्दा पनि हाम्रो संयुक्त सरकार थियो।’

त्यसो त प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग कुनै खटपट नरहेको दाबी गरिरहेका थिए। यति मात्र होइन उनले ०८३ को असारमा देउवालाई प्रधानमन्त्रीको कुर्सी छाडिदिने र ०८४को चुनाव पनि गठबन्धन सरकारले नै सम्पन्न गराउने दाबी गरेका थिए। 
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्