Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्ती र नारायणी नदीमा ३५२ घडियाल गोही भेटिए

शुक्रबार, माघ ४, २०८१

चितवन- राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो संख्यामा गोही भेटिएका बताए । गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी भएका थिए । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएका थिए । त्यसबेला राप्ती र नारायणीमा तीन/तीन वटा भाले भेटिएकामा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँचवटा भाले भेटिएका छन् । 

यस वर्ष एउटा भाले नभेटिए पनि समग्रमा सङ्ख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि सङ्ख्या बढेको सूचना अधिकारी थापामगरले बताए । निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो । गत आर्थिक वर्षमा एक सय पाँच वटा गोही प्राकृतिक बासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा गोही छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार १८ गोही छाडिसकिएका छन् । हाल प्रजनन केन्द्रमा सात सय ३९ गोही रहेका छन् ।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यसबेला देशभर एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए । साथै बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्