संयुक्त बैठकपछि विपक्षी दलहरूले भने– सदनको हिउँदे अधिवेशन नबोलाए विशेषको माग हुन्छ
काठमाडौं– प्रतिपक्षी दलहरूले शुक्रबार संयुक्त बैठक सकेपछि गरेको पत्रकार सम्मेलनमा सरकारलाई हिउँदे अधिवेशन अबिलम्ब बोलाउनका लागि माग गरेको छ।
सो क्रममा विपक्षी दलका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,‘चाँडोभन्दा चाँडो प्रतिनिधि सभाको बैठक नडाके हामी विशेष अधिवेशनको माग गर्नेवाला छौं।’
शुक्रबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले यस्तो बताएका हुन्।
‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं,’ वक्तव्य पढेर सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,‘सरकारले हाम्रो माग सुनोस्।’
प्रचण्डका अनुसार सरकारले स्वेच्छाकारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रने निधोमा विपक्षी दलहरु पुगेका छन्। भूमाफियालाई पोस्नका लागि भूमीसम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध गरिएको छ।