चितवन प्रहरीले बुझायो रविसहित १४ जनाविरुद्ध अनुसन्धान प्रतिवेदन
चितवन- चितवनको साहारा सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज (शुक्रबार) प्रतिवेदन बुझाएको छ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जना व्यक्ति र सात कम्पनीमाथि मुद्दा चलाउन राय दिइएको छ ।
यसअघि गत असोज ८ गते पनि प्रहरीले सहारा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोही मितिमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रूपैयाँ गएको प्रहरी अनुसन्धानमा देखिएको छ । यस मुद्दाको मूल जाहेरीमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको नाम परेको थिएन ।
तर, रकम गएको विवरण खोज्दा लामिछाने तानिएपछि पीडितहरूले पुरक निवेदनमा नाम किटान गरेर जाहेरी दिएका थिए । प्रहरीले आज सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाए पनि अध्ययन गरेर मुद्दा दर्ता प्रक्रियामा जान कम्तीमा एक साता लाग्न सक्ने जनाइएको छ । प्रतिवेदन अध्ययनपछि प्रहरीलाई थप अनुसन्धानमा निर्देशन दिनुपर्ने पनि हुनसक्ने भएकाले मुद्दा दर्ता कहिले हुन्छ भनेर यकिन गर्न नसकिने बताइएको छ ।