Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच

शुक्रबार, माघ ४, २०८१

काठमाडौँ– काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकामा सवारीसाधनको प्रदूषण जाँच सुरू गरिएको छ।

महानगरपालिकाले सवारीसाधनको अवस्था पहिचान गरी मर्मत गराउन आग्रह गरेको छ। महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको जनाएको छ।

महानगरले मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेको छ। उक्त प्रावधानअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ।

त्यस्तै, सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत हुनुपर्छ। तीनपाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत हुनुपर्छ।

दुई पाङग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत हुनुपर्छ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेनसिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्ने कानुनी प्रबन्ध गरिएको छ।

जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अंक देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्