गाजाको युद्ध विरामलाई नेपालले गर्यो स्वागत
काठमाडौँ - सरकारले गाजामा भएको बन्दीहरूलाई मुक्त गर्ने सहमति र युद्ध विरामलाई स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालले ७ अक्टोबर २०२३ देखि मध्यपूर्वमा जारी घटनालाई नजिकबाट नियालेको बताउँदै हालै भएको युद्धविरामलाई स्वागत गरेको उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्री डा. आरजू राणाले साझा गरेको मन्त्रालयको विज्ञप्तिमा उक्त युद्ध विरामले सम्बन्धित पक्षलाई दीर्घकालीन शान्ति र स्थिरता तर्फ मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेको उल्लेख छ ।
विज्ञप्तिमा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीसहितका बन्धकहरूको रिहाइको अपिल गर्दै आएको पनि उल्लेख छ ।
सम्झौताका लागि सघाउने सबै पक्षलाई नेपालले कृतज्ञता व्यक्तसमेत गरेको छ ।
‘नेपाल सरकारले शान्तिका लागि भएका सबै प्रयासहरूको स्वागत गर्दछ र यस प्रकारका प्रयासहरूलाई समर्थन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।