Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्‍वकप प्रिभ्यू : बंगलादेशसँग बदला लिने दाउमा नेपाल

शुक्रबार, माघ ४, २०८१

काठमाडौं -आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । नेपालको महिला टोली पनि यस विश्‍वकपमा पहिलोपटक सहभागी हुँदैछ ।

चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्‍वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । उद्घाटन खेलमा नेपालले शनिबार नै बंगलादेशसँग खेल्दै छ ।


मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।


नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।


ऐतिहासिक विश्‍वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्‍वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।


समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाललाई एक जितले मात्र पनि सुपर सिक्समा पुर्‍याउन सक्छ । बंगलादेशविरूद्ध जित निकाल्न सके नेपालको सुपर सिक्स सम्भावना बलियो बन्ने छ ।


विश्‍वकप खेल्न मलेसिया प्रस्थान गर्नुअघि नेपालकी कप्तान पुजा महतोले बंगलादेशसँग एसिया कपमा व्यहोरेको हारको बदला लिने बताएकी थिइन् । ‘हामी एसिया कपमा हारेको बदला लिन चाहन्छौं, अनि मिडियामा भन्नु छ कि जित मीठो होला तर बदला अझै स्वादिष्ट हुन्छ।’

एसिया कपमा भएको खेलमा वर्षा बाधक बन्दा ११ ओभरमा छोट्याइएको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको थियो । बंगलादेशले उक्त लक्ष्य १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेटको जित निकालेको थियो ।

एसिया कपमा पाकिस्तानलाई हराएको नेपाल भारतसँगको खेल वर्षाले नतिजाविहीन भएको थियो । सुपर सिक्सको खेलमा श्रीलंकासँगको खेल वर्षाले रद्द हुँदा बंगलादेशसँग पराजित भएको थियो । बंगलादेश उक्त प्रतियोगिताको फाइनलसम्म पुगेर भारतसँग पराजित भएको टोली हो । बंगलादेशलाई हराउन त्यति सहज भने हुने छैन ।

मौसम र पिच

शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन । मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । त्यस्तै दिउँसो नेपालको खेल हुने समयमा वर्षाको सम्भावना पनि देखिएको छ ।

यहाँको पिचमा यू-१९ महिलाका खेलहरू पहिले भएका छैनन् । तर यो पिचमा प्रशस्त रन बन्ने गरेको छ । नेपालको सिनियर महिला टोलीले माल्दिभ्सविरूद्ध २२७ रन बनाएको थियो । यद्यपी भोलिको मौसम ओभरकास्ट देखिएकाले बलरहरूलाई मद्दत पुग्न सक्छ ।

यस खेलमा टस जित्ने खेलाडीले बलिङ रोज्दा फाइदा हुनेछ । ओभरकास्ट कन्डिशनमा पहिले ब्याटिङ गर्न केही गाह्रो हुन्छ । त्यसकारण बलरहरू हावी बन्न सक्छन् ।

प्रभाव पार्न सक्ने खेलाडीहरू

नेपाल : नेपालबाट कप्तान पुजा महतो, उपकप्तान सोनी पाख्रिन र बलर रचना कुमारी चौधरी प्लेयर्स टु वाचका रूपमा रहनेछन् ।

पुजाले ब्याटिङ र बलिङ दुवैमा मअत्वपूर्ण योगदान दिन सक्छिन् । त्यस्तै सोनी पाख्रिनले मिडल अर्डरमा स्ट्राइक रोटेट गर्दै खेल चलाउन सक्षम छिन् भने रचना कुमारी चौधरीको बाँयाहाते स्पीन बलिङमा विपक्षीलाई दबाब दिन सक्छ । विश्‍वकप एसिया छनोटमा पुजाले सर्वाधिक रन बनाउँदा रचनाले सर्वाधिक विकेट लिएकी थिइन् ।

बंगलादेश : बंगलादेशबाट कप्तान सुमैया अक्तर, फाहोमिदा चोया र निशिदा अख्तर प्लेयर्स टु वाचका रूपमा रहनेछन् । सुमैयाले सिनियर टिमबाट खेलिसकेको अनुभव छ भने फाहोमिदाले ब्याटिङमा लिड गर्न सक्छिन् । त्यस्तै निशिदा अक्तर यू-१९ एसिया कपमा बंगलादेशका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत रहेकी थिइन् ।

खेल : नेपाल विरूद्ध बंगलादेश, आईसीसी यू-१९ महिला टी२० विश्‍वकप
मिति र समय : १८ जनवरी २०२५ (२०८१ माघ ५), १२:१५ बजे (नेपाली समय)
स्थान : यूकेएम ओभल, बाङ्गी, मलेसिया
मौसम : बादलले ढाकिएको आकाश, वर्षाको सम्भावना

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्